[केशव आचार्य]
नमस्कार हजुर,
साझ पख पाल्नु भयो, बस्नुहोस।
यी आफ्नो त हालत यस्तै छ,
धेरै भयो ,खेतमा पटुवा छरेको छैन।
यो बत्तिको सलेदो पनि,
थोत्रो कपडाको सलेदो हालेको छु।
जङ्गल, गाउबाट टाढा धेरै टढा हुँदै गयो,
अगेनोमा मकैको ढोड बालेको छु।
यो छानो पनि तारा मन्डल देखिने भयो हजुर,
कतै जिन्दावाद र कतै मुर्दावादले टालेको छु।
तिर्खा लाग्यो होला हजुरलाइ,
एक बटुको मोही पनि दिन सकिन,
गोठमा थारो लोकतन्त्र पालेको छु।
आउला हजुर,
भोलि राको लिएर जुलुसमा आउला,
यो मानो पोखेर मुरी उब्जाउने याममा पनि,
मैले, हजुरले दिएकै झन्डा उचालेको छु।
हो हजुर , मैले झन्डा उचालेको छु,
हजुरकै पाटी अगालेको छु,
हजुरकै भासण सगालेको छु,
हजुरकै इसारामा,
मैले सहोदर भाइलाइ एकै ड्ण्डामा ढालेको छु।
तर,
मेरो एउटा अनुरोध हजुर,
एउटा बिन्ती ,
यो मेरी पातलीलाई,
राती जुलुसमा लिएर आइज चै नभन्नुहोला,
मैले उसलाई चोखो सिन्दुर हालेको छु।।