Aamsanchar

दाइजोलाई युवाको चुनौती

Author Image
शनिवार, असार २५, २०७३

झापा ।
160708050127_nepal_wedding_640x360_bbc_nocredit

हालैका वर्षहरुमा तराईमा कैयौं युवाहरुले दाइजो प्रथा विरुद्ध अभियान चलाएर उक्त सामाजिक कुरीतिलाई चुनौति दिइरहेको पाइएको छ।

तराईका जिल्लाका कतिपय समुदायमा छोरीको विवाहमा दाइजो अनिवार्य शर्त जस्तै बनेको छ। परिवारको हैसियतभन्दा पनि केटापक्षले माग गरे अनुसार दाइजो दिएर छोरीको विहे गर्नुपर्ने बाध्यता कतिपय ठाउँमा अझै कायमै छ।

दाइजो नल्याएको वा कम ल्याएको बहानामा भएका घरेलु हिंसामा कतिपय महिलाको ज्यान समेत गएका उदाहरण छन्।

दाइजोमुक्त

सप्तरी त्रिलाठीका अजित कुमार झाको परिवारका सबै सदस्यहरुले दाइजो लेनदेन नगरि विहेवारी गरे।

भारत सहर्साकी अनुराधा मिश्रासंग हालै विवाह बन्धनमा बाँधिएका झाका विचारमा दाइजो लिनुभन्दा शिक्षित केटी रोज्नु महत्वपूर्ण कुरा हो।

उनी भन्छन्, “२०/२२ वर्षअघि मेरो दाईले पनि दाइजोमुक्त नै विवाह गर्नुभएको थियो, बुवाको पनि धारणा त्यहि छ। दहेज किन लिने? पढेलेखेको केटी होस्, संस्कार होस्, सम्पत्तीले त के गर्छ र?”

स्नातकोत्तर अध्ययन सकेर शिक्षण पेशा अँगाल्दै आएका अजितले गरेको दाइजो रहित विवाह उनको समुदायका लागि उदाहरणका साथै चुनौती समेत थियो।

यसको मुख्य कारण हो समाजमा जकडिएर बसेको दाइजो लेनदेनको विकृति। शिक्षा र चेतनाका हिसावले समाज निकै अगाडि बढेपनि तराइका कयौँ समुदायमा दाइजो लेनदेनको विकृति कायमै रहेको जानकारहरु बताउँछन्।

लेनदेन

दाइजोप्रथा विरुद्ध अभियान चलाउदै आएको अपन विराटगढ परोपकार समाजकी अध्यक्ष बसुन्धरा झाका अनुसार ती समुदायमा केटाहरुको विहे गर्नुपरेमा उनीहरुले केटीपक्षसंग मोटर साइकल, गाडी, सुनचाँदी लगायत विहे खर्च भन्दै निकै ठूलो रकम माग गर्ने गरेको पाइन्छ।

उनी भन्छिन्, “हामीलाई केहि चाँहिदैँन विहेको खर्च दिइहाल्नुस भन्ने गरिन्छ, विवाहपछि बुहारीलाई त्यस्ता सामाग्रीहरु अनिवार्य चाहियो भनेर पनि तनाव दिने गरिएको छ।”

छोरी चेलीको विवाह गर्दा अभिभावकहरुले आफनो घरबार बेच्नुपर्ने वा ऋण लिनुपर्ने बाध्यता रहेको कतिपयको गुनासो छ।

सामान्य वर्ग भन्दा पनि शिक्षित परिवारमा दाइजो लिने दिने विकृती रहेको बताउँदै अभियानकर्मी झा भन्छिन्, कतिपय परिवारले छोराको पढाइ लेखाइमा लागेको सबै खर्च पनि केटीपक्षबाटै माग्ने गरेका कैयौ उदाहरण छन्।

सम्मान

तराईका विभिन्न समुदायमा दाइजो प्रथा ठूलो विकृतिको रुपमा फैलिएपछि त्यसको विरोधमा विभिन्न अभियान पनि सञ्चालन हुन थालेका छन्।

दाइजो विरुद्ध युवा लक्षित अभियान चलाउँदै आएका एक अभियन्ता प्रविण नारायण चौधरीले दाइजो माग गरेर गरिने विवाहमा सहभागी नहुने संकल्प आफूहरुले गरेको बताउँछन्।

उनी भन्छन्, “दाइजोमुक्त विवाह गर्नेलाई हामी सम्मान गर्छौ, प्रशंसापत्र दिन्छौं।” यस्ता अभियानपछि केहि शिक्षित युवाहरुले दाइजो रहित विवाह गरेर समाज परिवर्तनमा लागेका बताइएको छ । दाइजो प्रथालाइ पूर्ण रुपमा नियन्त्रण गर्न अझै ठूलो अभियान आवश्यक रहेको बिबिसिले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर