काठमाडौं:
कांग्रेस नेता खुमबहादुर खड्का समूहले हिन्दु राष्ट्र घोषणाका लागि देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ । लगनखेलको एउटा कराते डोजोमा भएको केही नेताहरूको भेलाले हिन्दु राष्ट्रका लागि आन्दोलनको आन्तरिक तयारी गर्ने निर्णय गरेको हो ।
यसअघि हिन्दु राष्ट्र पुनस्र्थापना महाअभियानका संयोजकसमेत रहेका खड्काले फेरि उक्त अभियान थाल्ने घोषणा गरेका हुन् ।
‘मलाई केही समय स्वास्थ्यले साथ दिएन तर पनि हिन्दुको एजेन्डाबाट हामी कहींकतै पनि विचलित छैनौं’, खड्काले भने, ‘पार्टीको गरिमा बढाउने हो भने बीपीको विचारलाई केही परिमार्जन गर्दै नेपाललाई हिन्दु राष्ट्र कायम गराउनुपर्छ ।’
उनले पछिल्लो समय देशभरिबाट विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा हिन्दुवादी अगुवासँग निरन्तर वार्ता भइरहेको बताए । ‘हिन्दु राष्ट्रका लागि अब गरिने आन्दोलन वार या पार हुने निश्चित छ’, खड्काले भने, ‘आन्दोलन गरेर मुलुकलाई हिन्दु राष्ट्र गराउने हो ।’