Aamsanchar

माओवादी केन्द्रको समर्थन फिर्तासँगै सरकार अल्पमतमा

Author Image
मङ्गलवार, असार २८, २०७३
झापा ।
index
केही दिनयता चलेका अनेकौ आशंकाका बीच सत्तासाझेदार मुख्य दल नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
माओवादी केन्द्र समर्थन फिर्ता गर्दै बाहिरिएपछि सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै आफ्ना मन्त्री वाहिरिएको पत्र प्रधानमन्त्री केपी ओली र सभामुख ओनसरी घर्तिलाई बुझाइसकेको छ । समर्थन फिर्ताबारे औपचारिक जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा माओवादी केन्द्रले अल्पमतमा परेकाले तत्काल राजिनामा दिएर अर्को सरकारका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह समेत गरेको छ ।
माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले अबको सरकार पुष्पकमल दाहालको नेतृत्वमा बन्ने दाबी गर्नुभयो । सिंहदरवारस्थित पार्टी संसदीय दलको कार्यालयमा भएको पत्रकार सम्मेलनमा महराले नौं बुँदे सहमति र भद्र सहमति कार्यान्वयन गर्न ओली सरकार तयार नभएकोले सरकार छाड्नुपरेको जिकिर गर्नुभयो । सहमतीय सरकार गठनका लागि प्रयास गर्ने बताएको माओवादी केन्द्रले आज सरकारबाट वाहिरिने औपचारिक निर्णय गरेको थियो । माओबादी केन्द्रले सरकारबाट फिर्ता भएको भनि पठाएको पत्रमा प्रधानमन्त्री ओलीले यसअघि भएको ९ बुँदे लिखित र ३ बुँदे भद्र सहमति पालना नगरेको आरोप लगाइएको छ ।
आफ्नो समर्थन फिर्ताका कारण राष्ट्रिय सरकार गठनमा सहयोग पुग्ने पनि उल्लेख गरिएको छ । भूकम्पपछिको पुनर्निर्माण र राहत, संबिधानप्रति असन्तुष्ट समुहसँग सहमतिका लागि राष्ट्रिय सहमति अत्यावश्यक रहेको समेत पत्रमा उल्लेख गरिएको छ । यसअघि माओवादी केन्द्रले सरकारबारे निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष दाहाललाई दिएको थियो । दाहालले हिजो प्रधानमन्त्री केपी ओली र कंग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गर्नुभएको थियो । देउवाले अर्को सरकार बनाउने भए तत्काल सरकारबाट फिर्ता हुन आग्रह गर्नुभएको थियो ।
माओवादी केन्द्रको निर्णयपछि के गर्ने भन्नेबारे छलफल गर्न प्रधानमन्त्री ओलीले आन्तरिक छलफल शुरु गर्नुभएको छ । एमालेले आजै बेलुका ६ बजे स्थायी समितिको आकस्मिक बैठक बोलाएको छ । बैठकमा यहि गठबन्धनलाई कायम राख्नेबारे छलफल हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराइले जानकारी दिनुभयो । गठबन्धनलाई निरन्तरता दिने शर्तमा भावि प्रधानमन्त्रीमा माओवादी केन्द्रलाई समर्थन गर्न सकिनेबारे समेत एमाले लचिलो बन्ने भट्टराइको भनाई छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर