Aamsanchar

३ महिना लामो कसरत पछि सरकार ढाल्न भारत सफल

Author Image
बुधवार, असार २९, २०७३

काठमाण्डौं ।

Nepali-potics-

 

खुसियालीमा पांचतारे होटलमा भोज

-चीनसँग नेपालले गरेका सम्झौताहरुलाई असफल बनाइदिने रेको घोषणा

-भारतीय राजदूत रनजित रेले भने-मिसन सफल भयो

नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि निकै गोप्यता पूर्वक भारतीय राजदूत रंजित रेले मंगलवार साँझ एक पाँचतारे होटेलमा आयोजना गरेको खुसीयाली भोजको सूचना पत्रकार ऋिषि धमलाका कारण बाहिरिएको छ । पत्रकार धमलालाई उदृत गर्दै लोकान्तर अनलाइनमा त्यो गोप्य खुसीयाली भोजको समाचार बाहिर आएको हो ।

 

ओली नेतृत्वको सरकार राजनीतिक रुपले अल्पमतमा परेपछि खुला मञ्चको अनसनमा रहेका मधेसी मोर्चाका नेताहरुलाई बोलाएर राजदूत रेले खुसीयाली भोज मात्रै खुवाएनन् उनले बल्ल आफ्नो मिसन सफल भएको भन्दै अव माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा सहभागि हुन निर्देशन समेत दिए । अनसनमै रहेका बेला रञ्जित रेको फोन आएपछि अनसन छोडेरै उपेन्द्र खुसीयाली भोजमा सामेल भएका थिए भने सरकार ढाल्न सफल भएको खुसीयाली पोख्दा राजदूत रे फुटवल खेल हेरिरहेको युवा दर्शकजस्तै हात उठाएर याहु गरिरहेका थिए ।

 

भारतीय राजदूत रेले त्यहाँ अव नेपाल र भारतबीच सम्बन्ध प्रगाढ हुने मात्र वताएनन् दुई महिना भित्र नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिल्ली भ्रमण गराउने र चीनसँग नेपालले गरेका सम्झौताहरुलाई असफल बनाइदिने पनि सुनाए । ‘अव ओलीले राजीनामा दिएनन् भने पनि, संसदमा अविश्वास प्रस्ताव दर्ता हुन्छ, त्यसबेला मतदान हुँदा तपाईहरु ओलीको विरुद्ध मतदान गर्न जानु पर्छ, मधेसको समस्या समाधानमा अव कुनै समस्या छैन, सरकारमा बसेर केही नयाँ कामहरु गर्नुपर्छ’ रेले मधेसी दलका नेताहरुलाई दिएको निर्देशन उद्धृत गर्दै स्रोतले भन्यो, ‘यो बीचमा अव एमालेमा पनि समस्या आउँछ हेर्दै जानुहोला, माधव नेपालसहित एउटा पक्ष सहमतिको सरकार बनाउन प्रचण्डजीको नेतृत्वमा जानु पर्ने तर्क अगाडि सार्नेछ ।’

 

रञ्जित रेले मधेसी दलहरुलाई भावी राजनीतिवारे पनि मार्गदर्शन गरे । उनले मधेसी दलको सबैभन्दा ठूलो दुस्मन एमाले रहेको र एमालेमा राजनीतिक मतभेद ल्याउने कोसिस अहिलेसम्म सफल नरहने पनि अव सम्भव हुने सुनाएका थिए । ‘अव सम्हाल्न ओलीलाई गाह्रो हुन्छ सरकारमा जाने कुरा एमालेमा उठ्छ, त्यो ब्यवस्था मिलाइएको छ’ रेले भने ।

 

राजदूत रेले अव बन्ने सरकारबाट मधेसका समस्या समाधान गर्न धेरै आशा गर्न सकिने जनाए । सामाजिक सञ्जाल र सञ्चार माध्यममा भारत विरोधी भावना भड्किएकोले त्यसबाट बच्न अव होसियारी पूर्वक काम गर्नु पर्ने रेको सुझाव थियो । उनले मिसनमा स्पष्ट हुनु पर्ने र त्यसका लागि उपयुक्त अवसर आएको वताएका थिए ।

 

भोजमै सहभागि एक नेताका अनुसार भारतीय राजदूत रेले यो परिणामका लागि आफूले धेरै मेहेनत गर्नु परेको वताएका थिए । मधेसकेन्द्रित दलका नेताहरुले भने माओवादी अध्यक्ष प्रचण्ड विश्वसनीय नभएकाले समस्या समाधान हुन सक्नेमा शंका ब्यक्त गरेका थिए । रेले भने अब प्रचण्डको नेतृत्वमा बन्ने सरकार ‘ट्रान्जिट’ सरकार मात्रै रहेको र यतिका लागि पनि धेरै मेहेनत गर्नु परेको वताए ।

 

खुसीयालीमा निकै खुलेर प्रस्तुत भएका रेले आफ्नो कार्यकाल नेपालमा बल्ल सफल रहेको पनि वताउन भ्याए । यस्तै खुसी बाँड्दा रेले माओवादी अध्यक्ष प्रचण्डलाई एमाले नेतृत्वको सरकार छोडाउन तीन महिनादेखि अनवरत प्रयास गरेको पनि सुनाएका थिए । ‘प्रचण्डजीले एमालेसँग गर्नु भएको ९ सम्झौता पनि हाम्रै जानकारीमा भएको थियो,  एमालेले पूरा गर्न सक्ने कुरै थिएन, सम्झौता पूरा भएको भए पनि प्रचण्डजी यता आउने पक्का भइसकेपछि उहाँले ‘सहमतिको सरकार’ गठन गर्ने सार्वजनिक पहल गर्नु भएको थियो । यो पटक हामी सफल भयौं’ रेले भने, ‘अव बाहिर भारतले सरकार ढाल्यो भन्ने हल्ला ओलीका मान्छेले गर्न सक्छन्, यसलाई तपाईंहरुले चिर्नु पर्छ ।’

 

सरकार परिवर्तन हुने निश्चित भएपछि निकै उत्साहमा खुला र केटाकेटी जस्तै प्रस्तुत भएका रनजित रेले हात उठाएर उफ्रिएको शैलिमा खुसीयाली बाँडेका थिए । रेले बोलाएको खुसीयाली भोजमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव,  सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तमलोपा अध्यक्ष महन्थ ठाकुर उपस्थित थिए । अनसन छोडेर पुगेका उपेन्द्रले भने भोजमा सहभागि हुँदै भने– दमनकारी ओलीको सरकार ढल्नु सबैभन्दा बढी खुसीको दिन हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर