Aamsanchar

अपहरण प्रयास गरी फिरौती माग्ने चार पक्राउ

Author Image
बिहिवार, असार ३०, २०७३

कावासोती ।

इलाका प्रहरी कार्यालय नवलपुरले बालक अपहरण प्रयास गरी फिरौती रकम माग्ने चारजनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

प्रहरीले रुपन्देही तिलोत्तमा–३ का २८ वर्षीय खड्कबहादुर सुनार, सोही ठाउँका २२ वर्षीय हेमबहादुर सुनार, नवलपरासी देवचुली नगरपालिका–१ का २० वर्षीय समुयल वराइली र सोही ठाउँका सन्दीप विकलाई पक्राउ गरेको हो ।

खड्क र हेमबहादुरलाई बुटवलबाट र सन्दीप र समुयललाई देवचुलीबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । सुनार दुई दाजुभाइ हुन् । प्रहरी नायब उपरीक्षक थापाले भन्नुभयो– “चारजना पक्राउ भए, बाँकी दुई जनाको खोजी भइरहेको छ ।”

उनीहरुले बालक अपहरणमा प्रयोग गरेको ना ३७ प ५४८० नम्बरको रातो पल्सर २२० सिसीको मोटरसाइकल र दुईवटा मोबाइल समेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । मोटरसाइकल र मान्छे फरकफरक ठाउँमा पक्राउ परे, उहाँले भन्नुभयो– “घटना घटेको दुई घन्टामा मोटरसाइकल साटेर हिँडेका रहेछन् ।”

गएको फागुन २७ गते विश्वज्योति आवासीय माध्यमिक विद्यालय, प्रगतिनगरमा कक्षा १ मा पढ्ने ७ वर्षीय प्रसिद्ध सापकोटालाई रातो पल्सर मोटरसाइकलमा आएका तीनजनाले अपहरण प्रयास गरेका थिए ।

वरिपरिका बासिन्दाका कारण बालकलाई उनीहरुले लैजान सकेका थिएनन् । बालक लैजान नसके पनि पटकपटक पैसा दिनुपर्ने नत्र जे पनि हुनसक्ने धम्की दिँदै बालकका बुबा विष्णु सापकोटासँग रकम मोलमोलाई गर्ने व्यक्ति नै पक्राउ परेको इलाका प्रहरी कार्यालय नवलपुर प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो ।

रु एक करोडबाट रकम माग्न थाले पनि रु १० लाखसम्म भए पनि हुने उनीहरुले बताएको विष्णु सापकोटाले बताउनुभयो । चोरीको मोबाइल प्रयोग गरी उनीहरुले धम्की दिएको प्रहरीले जनाएको छ ।

मोबाइलबाहेक पनि चैतको पहिलो हप्तासम्म कहिले भैरहवा र कहिले त्रिवेणीबाट फोन गरेर पैसा माग्थे, उहाँले भन्नुभयो– “प्रहरीले पक्राउ गरेर राम्रो गरेको छ, धन्यवाद प्रहरीलाई ।” प्रहरीले अपहरणकारीलाई सार्वजनिक गर्दा सापकोटा परिवार पनि उपस्थित थियो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर