Aamsanchar

सशस्त्रमा बढुवा हुन तालिम अनिवार्य

Author Image
आइतवार, साउन २, २०७३

काठमाडौँ ।

armed

सशस्त्र प्रहरी बलको संशोधित नियमावलीले सशस्त्र प्रहरी निरीक्षकदेखि एआईजीपीसम्म बढुवाका लागि अनिवार्य रूपमा विभिन्न तालिम कोर्ष पूरा गर्नुपर्ने व्यवस्था गरेको छ ।
सो व्यवस्थासँगै वरिष्ठता, कार्यदक्षता, क्षमता र पुरस्कारसँगै सोर्सफोर्सका आधारमा बढुवा हुने परिपाटीको अन्त्य भएको छ ।  सशस्त्र प्रहरी बल मानवस्रोत विभाग प्रमुख अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले नयाँ नियमावलीले तालिम अनिवार्य गरेको बताउनुभयो ।
यस किसिमको तालिमले सशस्त्र प्रहरी अधिकृतको क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।  बढुवा प्रक्रिया पारदर्शी र वैज्ञानिक हुने भनाइ श्रेष्ठको छ ।  सशस्त्र प्रहरी बलका अनुसार, प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा हुन कम्पनी कमान्डर तथा स्टाफ कोर्स (सीएसी), डीएसपीबाट एसपीमा बढुवा हुन गणपति तालिम, एसपीबाट एसएसपीमा बढुवा हुन सिनियर कमान्ड तथा व्यवस्थापन योजना तालिम लिनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, एसएसपीबाट डीआईजीपीमा बढुवा हुन सुरक्षा व्यवस्था तालिम वा नेसनल डिफेन्स कोर्स र डीआईजीपीबाट एआईजीपीमा बढुवा हुन उच्चस्तरीय व्यवस्था तालिम अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्था लागू गरिएको छ ।
सशस्त्र प्रहरी अधिकृतहरूको शैक्षिक योग्यता अन्तर्राष्ट्रियस्तरको अर्धसैनिक सुरक्षाबलको तुलनामा विकास गर्न यस किसिमको व्यवस्था गरिएको विभाग प्रमुख एआईजीपी सिंहले बताउनुभयो ।  अधिकृतहरूलाई तालिममा दक्ष र सक्षम बनाउन मातातीर्थमा अत्याधुनिक तालिम प्रतिष्ठान निर्माणाधिन अवस्थामा रहेको छ ।
उहाँका अनुसार, सशस्त्र प्रहरी तालिम प्रतिष्ठान तीन अर्ब ६० करोडको लागतमा निर्माण भइरहेको छ ।  सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षक एक हजार २५ जना, तीन सय ७० जना डीएसपी, ९२ जना एसपी, २७ जना एसएसपी, १८ जना डीआईजी र छ जना एआईजीको दरबन्दी रहेको छ ।
३६ हजार सात सय ५८ जनशक्ति रहेको सशस्त्र प्रहरी बल २०५८ सालमा स्थापना भएको हो ।  स्थापनाको छोटो समयमा पनि सशस्त्र प्रहरी बल अर्धसैनिक सुरक्षा बलको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित रहेको सशस्त्र प्रहरी प्रवक्ता एआईजी शैलेन्द्र खनाल बताउनुहुन्छ ।
सशस्त्र प्रहरी बलको मुलुकभर पाँच विकास क्षेत्रमा पाँचवटा क्षेत्रीय कार्यालय, काठमाडौँ उपत्यकामा महानगरीय प्रहरी बल, २४ गण, २२ वटा सीमा सुरक्षा कार्यालय, पाँच स्थानमा तालिम केन्द्र र ३८ गुल्म रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)