झापा।
यस वर्षको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार कञ्चनजंघा एफएमका समाचार प्रमुख केशव भट्टराईलाई प्रदान गरिएको छ ।
प्रेस सेन्टर झापाको तेश्रो जिल्ला सम्मेलन तथा डी. कौडिन्यको १५ औँ स्मृति दिवसको अवसर पारेर शुक्रबार एक कार्यक्रमकाबीच भट्टराईलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।
प्रेस सेन्टर झापाका संयोजक टीकाराम उप्रेतीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका पूर्व महासचिव ओम शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य झलकसिंह दर्लामी मगर, नेपाल पत्रकार महासंघका पूर्वाञ्चल संयोजक गणेश पोख्रेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङ, नेपाल प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईँ, प्रेस चौतारीको केन्द्रीय सदस्य अम्बिका भण्डारी, फोनिजका झापा अध्यक्ष गणेशमान मुखिया, मिडिया नेपालका पूर्वाञ्चल उपाध्यक्ष इन्द्रसिंह राजवंशी, स्व. कौडिन्यकी श्रीमती यमुना आचार्य लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा डी. कौडिन्यको जीवनीका बारेमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य यज्ञराज प्रसाईँले प्रकाश पारेका थिए भने सम्मानित व्यक्तित्व भट्टराईका बारेका पत्रकार उमाकान्त खनालले प्रकाश पारेका थिए । डण्डीराज घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन झुलन रेग्मीले गरेका थिए ।