Aamsanchar

अझै केही दिन भारी वर्षा सचेत रहन मौसमविद्को आग्रह

Author Image
मङ्गलवार, साउन ११, २०७३

काठमाडौँ। 

aeogae_361583_1624152

(लक्ष्मीप्रसाद उपाध्याय)

तिब्बती क्षेत्रबाट आएको वायुको ठूलो ढिक्काका कारण केही दिन नेपालको पश्चिमी क्षेत्रमा भारी वर्षा हुने र यसबाट बाढी, पहिरो र डुबानको समस्या हुनसक्ने भन्दै मौसमविद्ले सचेत रहन आग्रह गरेका छन् ।
एक हप्तायता लगातार वर्षा हुँदा पूर्वदेखि पश्चिमका सबै भागमा यसको असर परिरहेको छ ।  नेपालको वायुमण्डलबाट मनसुनी वायुको रेखा दक्षिणतिर (भारततर्पm) सरेको र त्यसका स्थानमा तिब्बतबाट अर्को वायुको ठूलो ढिक्का नेपाली वायुमण्डलमा प्रवेश गरेकाले पश्चिम नेपालतर्फ अझै लगातार भारी वर्षा हुने अनुमान गरिएको छ ।
मौसमविद् समिर श्रेष्ठका अनुसार काठमाडौँदेखि पश्चिमका भागमा आउँदो बिहीबारसम्म लगातार पानी पर्ने सम्भावना छ ।  भारी वर्षाले गर्दा पश्चिम नेपालमा बाढी, पहिरो र डुबान हुनसक्ने सम्भावना बढेको छ ।  यस्तो बेला सबैले सचेत र सजग रहनुपर्ने हुन्छ ।  जल तथा मौसम विज्ञान विभागले सोमबार साँझ कर्णाली नदीमा पानीको मात्रा निकै बढ्दै गइरहेको जनाएको छ ।  जाजरकोटको घर्ती गाउँनजिकको क्षेत्रमा कर्णाली नदीको पानीको सतह निकै बढेकाले त्यस वरपरका क्षेत्रका बासिन्दालाई सतर्क रहन सचेतनाको घण्टी दिएको छ ।  monsoon
उता सोमबार कन्काई नदीमा पानीको मात्रा बढ्दै गएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सजग रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।  विभागका महानिर्देशक डा. ऋषिराम शर्माले भन्नुभयो, “नदीमा पानीको मात्रा बढ्दै गइरहेको छ, खतराको तह पार भइरहेको र पानीको मात्रा बढ्दै गर्दा अर्काे सूचना जारी नभएसम्मका लागि नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । ”
पश्चिमी क्षेत्रमा आएको बाढीले नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीका दर्जनौँ बस्ती डुबानमा पारेको छ ।  डुबान सुक्न नपाउँदै पुनः भारी वर्षा हुने सङ्केत देखा परेपछि विभागले पश्चिमी क्षेत्रका नदी किनारका बस्ती र होचो क्षेत्रका बासिन्दालाई पनि सचेत रहन आग्रह गरेको छ ।  आइतबार रातिदेखि लगातार आएको वर्षाले पूर्वी नेपालका तराईका केही भाग पनि डुबानमा परेको छ ।  सोमबार मोरङका विभिन्न बस्तीमा बाढी पस्दा कम्तीमा दुई हजार घर डुबानमा परेका छन् ।  घर डुबानमा परेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रसको सहयोगमा उद्धार गरिएको बताइएको छ ।
सशस्त्र प्रहरीले मुसहर समुदायका २६ परिवारलाई उद्धार गरी राहत सामग्री वितरण गरेको छ भने सप्तरीका विभिन्न बस्तीमा बाढी पस्दा स्थानीय बासिन्दा आसपासका गाउँमा शरण लिन बाध्य भएका छन् ।
उता धनकुटामा कोसी राजमार्गका विभिन्न स्थानमा पहिरो र ढुङ्गा खस्दा आवागमन बन्द भएको छ ।  कोसी राजमार्गको गुठीटार मूलघाट खण्डमा खसेको पहिरो पन्छ्याउने कार्यमा स्थानीय प्रहरी प्रशासनले काम गरे पनि लगातार माथिबाट पहिरो खस्दै गएकाले खासै प्रगति हुन नसकेको गृह मन्त्रालयले जनाएको छ ।
सोमबार दिनभरि पूर्वी र पश्चिम नेपालका सबै स्थानमा वर्षा भएको छ ।  सबैभन्दा बढी मध्य तराईमा भएकाले अझै खोला, नदी किनार र होचो स्थानका बस्तीमा बाढी पस्न सक्ने खतरा बढेको छ ।  मौसम पूर्वानुमान महाशाखाका मौसमविद् श्रेष्ठका अनुसार सोमबार सबैभन्दा बढी पानी सिमरा, चितवन, नवलपरासी, कपिलवस्तु क्षेत्रमा परेको छ ।  महाशाखाका अनुसार सिमरामा सबैभन्दा बढी १८२ मिलिमिटर पानी रेकर्ड गरिएको छ ।  धरानमा १३५ मिलिमिटर, लुम्लेमा १३२ मिलिमिटर र नेपालगञ्जमा १०७ मिलिमिटर वर्षा भएको छ ।  विभागका सबै रेकर्ड केन्द्रले दिएको जानकारी अनुसार आइतबार रातिदेखि सोमबार साँझसम्म देशैभर वर्षा भएको छ ।
यसैगरी राससका अनुसार अविरल वर्षापछि आएको बाढीका कारण झापामा दुई जनाको मृत्यु, एक बेपत्ता र ९०० घरपरिवार विस्थापित भएका छन् । नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार गोलधाप–८ निवासी ६४ वर्षीय कालीबहादुर लिम्बू र गौरादह–५ निवासी ३६ वर्षीय टेकेन्द्र खड्काको मृत्यु भएको छ भने कुमरखोद–४ स्थायी बसोबास गर्दै आएका भारत घर भएका १८ वर्षीय कालु भनिने बाबुलाल मर्डीलाई माई खोलाले बगाएर बेपत्ता बनाएको छ । झापामा सोमबार भने केही मात्रामा वर्षा रोकिएको छ । मैनाचुलीमा रहेको कनकाई जलमापन केन्द्रका अनुसार पछिल्लो २४ घन्टामा ९७.४० मिलिमिटर वर्षा मापन भएको छ ।
यसैगरी सोमबार बिहान उदयपुरको रामपुर ठोक्सिला गाविस–२ को स्थानीय गुहेखोलाले बगाएर बेपत्ता भएकी कालीमाया राईलाई प्रहरीले दिउँसो १२ः३० बजे मृत फेला पारेको छ ।बिहान छिमेकीको घर जान कालीमायाले स्थानीय गुहेखोला तर्ने प्रयास गरेकी थिइन्।खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएकी राईलाई स्थानीयबासी र इलाका प्रहरी कार्यालय रामपुरको टोलीले खोजी गर्दा गुहे खोलाको झाडीमा अड्किएको अवस्थामा मृत फेला पारेको इलाका प्रहरी कार्यालय रामपुरले बताएको छ ।
यस्तै सिन्धुलीमा पहिरोले पुर्दा तीन जना गम्भीर घाइते भएका छन् भने अर्का एकको अवस्था चिन्ताजनक रहेको छ ।
कमलामाई नगरपालिका–१० करकरेस्थित कमलापुलमा आएको पहिरोले स्थानीयबासी मोतीलाल श्रेष्ठको पसल बगाउँदा उहाँकै श्रमती बिन्दाकुमारी श्रेष्ठ, स्थानीय विष्णुप्रसाद कोइराला र रूपमनी मगर घाइते भएका छन् ।
यसैबीच, पहिरो जाँदा अवरुद्ध भएको बीपी राजमार्ग अन्तर्गत सिन्धुली–बर्दिबास सडकखण्ड जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय भीमानको प्रहरी टोलीले खुलाएको छ । बिहानैदेखि अवरुद्ध राजमार्ग केही समयअघि मात्र खुलाइएको प्रहरीले जनाएको छ । सिन्धुलीका धेरै स्थानमा तीन दिनदेखि निरन्तर वर्षा भइरहेको छ।यस्तै रातभर परेको अविरल वर्षाका कारण सुनसरी जिल्लाको विभिन्न खोलामा आएको बाढीले बस्ती तथा गाईगोठसमेत डुबानमा परेका छन्।
सुनसरीको अमडुवा–५ का विजय गुरुङको गोठमा बाँधेको दुई गोरु र एक गाईको डुबेर मृत्यु भएको छ ।वर्षाकै कारण अमडुवा–७ मा २२ घर, ५ मा २७ घर र ४ मा १४ घर डुबानमा परेका छन् । स्थानीय धमुना खोलामा आएको बाढीका कारण डुबान भएको हो । यसैगरी टेङ्ग्रा खोलामा आएको बाढीका कारण अमाहीबेला–४ मा ३४ घर र ५ मा २२ घर डुबानमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको तथ्याङ्कमा उल्लेख भएअनुसार पश्चिम कुशाहा–९ मा पानीको निकास नहुँदा नौ घर जलमग्न बन्न पुगेको छ । यता बूढीखोलामा आएको बाढीले अमाहीबेलाहा–८ मा पनि केही घर डुबानमा परेको छ ।
घर गोठ डुबानमा परेपछि मानिस भने अग्लो स्थानतिर सरेका र चौपायालाई खुला छाडिदिएको बताइएको छ । घर डुबानमा परेपछि खाद्यान्न र लत्ताकपडासमेत भिजेकाले समस्या परेको छ ।
प्रहरी उपरीक्षक पोषराज पोख्रेलका अनुसार सोमबार बिहान ६ बजे सप्तकोसी नदीमा दुई लाख २२ हजार ९०५ क्युसेक प्रतिसेकेन्ड बाढी मापन भएको छ । बाढी निकासका लागि ब्यारेजका ३० ढोका खुला गरिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर