Aamsanchar

कुन प्राणीको हेर्ने शक्ति कति ?

Author Image
मङ्गलवार, साउन ११, २०७३

काठमाडौं ।

1467779207eyes

संसारमा रहेका विभिन्न प्राणीहरुमा मानिसमा भन्दा विशिष्ट क्षमताहरु रहेको पाईन्छ र यी विशिष्ट क्षमताहरु पनि भिन्न भिन्न जनावरहरुमा भिन्न भिन्न प्रकारका हुन्छन् ।

कतिपय प्राणीले प्रकाशको त्यस्तो तरंगलाई पनि देख्न सक्छन् जुन तरंगलाई मानिसको आँखाले ठम्याउनै सक्दैन । त्यतिमात्र होइन, कतिपय प्राणीमा अस्वाभाविक दृष्टि क्षमता पनि हुन्छ जसले गर्दा निकै टाढा टाढा पनि स–साना बस्तुहरु वा त्यसका सुक्ष्म गतिविधिहरु पनि सजिलै ठम्याउन सक्छन् ।

कसको हेर्ने शक्ति कति ?

शिकारी चराहरुको हेर्ने शक्ति मान्छेको भन्दा धेरै नै राम्रो र तीक्ष्ण हुन्छ । एउटा बाजले एक हजार मिटर टाढाबाट भुइँमा बसिरहेको परेवालाई सजिलै देख्न सक्छ भने उडिरहेको परेवालाई १६ सय मिटर परबाट देख्न सक्छ । यदि मानिसले त्यति दुरीबाट त्यो परेवालाई हेर्नुपरेको खण्डमा उसलाई कम्तिमा पनि ६ गुना शक्तिशाली दुरबीनको सहायता चाहिन्छ ।

यसको तुलना कुकुरसँग गर्ने हो भने कुकुरको हेर्ने शक्ति अति कम हुन्छ । एउटा कुकुरले हिंडिरहेको मानिसलाई ५ सय देखि ७ हजार मिटरको दुरीसम्मबाट मात्र देख्न सक्छ । अझ उस्तै लुगा लगाएका मान्छेहरुका बीचमा रहेको आफ्नो मालिकलाई उसले १ सय १० मिटरको दुरीभित्रबाट मात्र चिन्न सक्छ । त्योभन्दा परबाट उसले आफ्नो मालिकलाई हेरेर चिन्न सक्ने क्षमता हुँदैन ।

१ सय १० मिटरको दुरीको आधारमा मानिसको हेर्ने शक्तिलाई अन्य प्राणीको हेर्ने शक्तिसँग तुलना गर्ने हो भने मानिसको आँखाले १ सय मिटरको दुरीमा १ दशमलव ६५ सेन्टिमिटर ब्यास भएको चक्कालाई देख्न सक्छ भने त्यतिकै दुरीबाट बिरालोले ७ दशमलव ८ सेन्टिमिटर ब्यास भएको चक्कामात्र देख्न सक्छ ।

एउटा आँखामा दश हजार लेन्स

मानिसको आँखामा एक–एकवटा लेन्स हुन्छ । तर कतिपय किराहरुको आँखाको बनोट अत्यन्तै जटिल हुन्छ र त्यसको प्रत्येक आँखामा हजारौं लेन्सहरु हुन्छन् । ड्रयागन फ्लाईको भने दशौं हजार लेन्सहरु हुन्छन् । यसले गर्दा यो किराले एकै ठाउँमा बसेर टाउको वा शरीर नघुमाइकन पनि चारै दिशामा रहेका हरेक बस्तुलाई देख्न सक्छ । यस्तो आँखाले प्रकाशमा हुने सानोभन्दा सानो परिवर्तनलाई पनि ठम्याउन सक्छ ।

त्यसैकारण आफनो वरिपरि हुने अत्यन्तै सुक्ष्म गतिविधिलाई पनि यस्ता आँखा भएका किराले थाहा पाइहाल्छ र उडिहाल्छ । बारुला, मौरीले भने प्रकाशको परावैजनी किरणलाई देख्न सक्छ, जसलाई हाम्रो आँखाले भने देख्न सक्दैन । त्यस्तो किरणलाई हेर्नका लागि मानिसले विशेष उपकरणको सहायता लिनुपर्ने हुन्छ । फूलहरुमा त्यस्तो विशिष्ट चिन्ह हुन्छ जुन चिन्ह परावैजनी किरणमा मात्र देखिन्छ ।

वैज्ञानिकरुका अनुसार फूलमा हुने त्यस्ता विशिष्ट चिन्हले किराहरुलाई फूलतर्फ आकर्षित गर्नुका साथै बिरुवाहरुको परागसेचन गर्ने कार्यमा समेत दिशा निर्देश गर्छ । –एजेन्सीहरुको सहयोगमा

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर