Aamsanchar

उद्धार र राहत प्रभावकारी बनाउँदै सरकार

Author Image
बिहिवार, साउन १३, २०७३

काठमाडौँ। 

images

अविरल वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा तराईमा बाढी र डुबानले जनधनको क्षति हुन थालेपछि सरकारले तत्काल उद्धार र राहत कार्य प्रभावकारी रूपमा अगाडि बढाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार सुरक्षा अङ्गका प्रमुख र सरोकारवालाको बैठक राखेर बाढीपहिरो र डुबानमा परेकाको जीउधनको सुरक्षा तथा उद्धार गर्न निर्देशन दिनुभएको थियो ।  गृह मन्त्रालय सचिव नारायणगोपाल मलेगोले अप्ठ्यारोमा परेको व्यक्तिको तत्काल उद्धार गर्नु सरकारको प्राथमिकता भएको बताउनुभयो ।  उहाँले त्यसका लागि काठमाडौँ र नेपालगञ्जमा हेलिकोप्टरलाई ‘स्ट्यान्डबाई’ राखिएको जानकारी दिनुभयो ।
बाढी, पहिरो र डुबानमा परेका कुनै पनि व्यक्तिका बारेमा तत्काल खबर भएमा उद्धारका लागि हेलिकोप्टर परिचालन गर्न सरोकारवाला निकायलाई निर्देशन दिइसकिएको समेत उहाँले बताउनुभयो ।  यसपटकको बाढीपहिरो र डुबानबाट बढी प्रभावित पश्चिम क्षेत्रमा तत्काल उद्धार र राहत वितरण गर्न पोखराका सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको गृह मन्त्रालयले जनाएको छ ।
गृहसचिव मलेगोका अनुसार नेपाली सेनाका हेलिकोप्टरले बागलुङको पहिरोमा परेकी एक गर्भवती महिलाको उद्धार गरी काठमाडौँमा उपचारका लागि ल्याएको छ ।  बाँके जिल्लाका विभिन्न स्थानमा डुबानमा परेका करिब सात सय व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ ।  ती व्यक्तिहरू कोही घरको छत, माटोको ढिस्को र रूखमा बसेको अवस्थामा उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ ।
सरकारले जिल्लास्थित सबै सुरक्षा निकायलाई उद्धारका लागि राहत वितरणका लागि परिचालन गरेको छ ।  जिल्लास्थित दैवीप्रकोप उद्धार समितिको बैठक बसेर आवश्यक रणनीति तय गर्ने गरेका छन् ।  स्थानीय तहमा देखिएका समस्यालाई हेरेर केन्द्रबाट सहयोग र समन्वयका काम गरिरहेका गृहसचिव मलेगोले जानकारी दिनुभयो ।  अविरल वर्षाका कारण प्युठानमा आएको पहिरो र बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ३८ पुगेको छ ।
मङ्गलबार कपिलवस्तुमा आएको बाढीले बगाएर बेपत्ता पारिएका पाँच जनाको शव फेला परेको छ ।  सोमडिहका ६० वर्षीय तिरथ पासी, ५० वर्षीय अहमद हुसैनको बाणगङ्गा नदीमा बगेर मृत्यु भएको थियो ।  बाढीले बगाएका दाउरा सङ्कलन गर्न जाने क्रममा दुवै जनाको मृत्यु भएको मर्यादपुर प्रहरी चौकीले जानकारी दिएको छ ।
यसैगरी बाणगङ्गा ओदारीका १४ वर्षीया रबिना चौधरी तथा भृकुटी नगरपालिकाकी १३ वर्षीया कल्पना कार्कीको डुबेर मृत्यु भएको छ ।  पानीको बहाव घटेपछि दुवैको शव ब्ुधबार फेला परेको प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिनुभयो ।  यसैगरी बाणगङ्गा नदीकै कजरहवा सिरहाबाट बेपत्ता बनेका रामगुलाम कलवारको शव बुधबार दिउँसो भारतीय सीमाक्षेत्रमा फेला परेको छ ।
त्यसैगरी बागलुङमा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ ।  उता तनहुँको घाँसीकुवा गाविस–५ लामीडाँडामा पहिरोले पुर्दा बुधबार दिउँसो एक बालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा नवराज भुजेलका नौ वर्षीय छोरा सन्देश भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । त्यसैगरी राप्तीको बगरमा बुधबार चार जना व्यक्तिको शव भेटिएको छ ।  राप्ती नदीको पानीको सतह कम हुँदै जाँदा दाङको सतबरीया क्षेत्रमा शव देखा परेको प्रहरीले जनाएको छ ।
तर, ती शवको पहिचान हुन सकेको छैन ।  प्युठान र रोल्पा जिल्लामा बाढी तथा पहिरोमा परेर बेपत्ता भएकामध्येको शव हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।  बुधबार बिहान देउखुरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।  गङ्गापस्पुर गाविस वडा नं. ९ निवासी ४० वर्षीय ठाकुरराम चौधरीको खोलामा डुबेर ज्यान गएको हो ।
झापाको राजगढ–४ खाडी गाउँ बस्ने राजकुमार लिम्बूको छोरा ११ वर्षीय मिलन लिम्बूको स्थानीय खोलामा आएको बाढीमा डुबेर, इटहरी उपमहानगरपालिका–२ स्थित बौका खोलामा डुबेर ४२ वर्षीय अनिल धामीको ज्यान गएको प्रहरीले जनाएको छ ।  त्यसैगरी रौतहटको बकैया नदीमा आएको बाढीले बगाएर बुधबार सात वर्षीया ईश्वरीकुमारी दासको ज्यान गएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर