Aamsanchar

बाढीपहिरो क्षेत्रमा बालबालिकाको संरक्षणमा ध्यान दिन अनुरोध

Author Image
बिहिवार, साउन १३, २०७३

काठमाडौँ ।

केन्द्रीय बालकल्याण समितिले बाढीपहिरो तथा डुबान क्षेत्रमा बालबालिकाको संरक्षणलाई विशेष ध्यान दिन अनुरोध गरेको छ ।

“बाढीपहिरो तथा डुबान लगायत अन्य प्राकृतिक विपद्का घटनाबाट प्रभावितका लागि खोज, उद्धार तथा राहतको कार्य प्रभावकारी बनाउन केन्द्रीय तथा जिल्ला दैवीप्रकोप उद्धार समिति, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकाय लगायतको कार्यलाई सराहना गर्दै अझै थप प्रभावकारी कार्य गर्नका लागि अनुरोध गर्दछौँ”– समितिका कार्यकारी निर्देशक तारक धितालद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

समितिले उक्त विपद्बाट प्रभावित बालबालिकासम्बन्धी जानकारी जिल्ला बालकल्याण समितिलाई गराउँदै उनीहरूको संरक्षणका लागि आवश्यक समन्वय र सहकार्य गर्नसमेत सरोकार भएकाहरुलाई आग्रह गरेको छ ।

“यही साउन १० गतेदेखि आएको बाढीपहिराका कारण आम जनजीवनसमेत कष्टकर हुन पुगेको छ, यस विपद्को घडीमा सबैलाई धैर्य गर्दै उद्धार, सहयोगका लागि सम्बन्धित निकाय तथा सङ्घसंस्था समन्वय एवम् सहकार्य गर्दै सक्रियता अपनाउन सबै जिल्ला बालकल्याण समितिलगायत बालबालिकाको क्षेत्रमा कार्यरत सङ्घसंस्थालाई हार्दिक आह्वान गर्दछौँ”– विज्ञप्तिमा उल्लेख छ ।

समितिले प्राकृतिक विपद्का समयमा सबैभन्दा बढी गर्भवती र बालबालिका जोखिममा पर्ने भएको हुँदा उनीहरूको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)