Aamsanchar

कनकाईमा बाढी आउने सूचना अब मोवाइलमै नि:शुल्क उपलब्ध

Author Image
बिहिवार, साउन १३, २०७३

काठमाडौँ ।

नेपाल टेलिकमले मौसमसम्बन्धी पूर्वसूचना मोबाइलमार्फत निःशुल्क उपलब्ध गराउने भएको छ ।

टेलिकमले एसएमएसमार्फत विपद्सम्बन्धी सूचना प्रवाह गर्नका लागि मौसम विज्ञान विभागबीच आज सम्झौता गरेको हो ।

टेलिकममा आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र जल तथा मौसम विज्ञान विभागका तर्फबाट महानिर्देशक डा ऋषिराम शर्माले हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार महाकाली, पश्चिम राप्ती, कनकाई, बबई, कर्णाली, नारायणी, वाग्मती, कोसी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकको मोबाइलमा विपद्सम्बन्धी पूर्वसूचना सम्प्रेषणको व्यवस्था मिलाइने टेलिकमले जनाएको छ ।

यसका लागि नेपाल टेलिकमले सो क्षेत्रका मोबाइल सेवाका ग्राहकको तथ्याङ्क मौसम विज्ञान विभागलाई उपलब्ध गराउनेछ । विभागले ११५५ कोडको प्रयोग गरी विशेष गरी विपद् आउनुपूर्व प्रभावित क्षेत्रका बासिन्दाले प्राप्त गर्नसक्ने गरी समूहगत रुपमा एसएमएसमार्फत आवश्यक जानकारी पठाउने टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यससम्बन्धी सबै सेवा नेपाल टेलिकमले निःशुल्क रुपमा उपलब्ध गराउनेछ ।

कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक आचार्यले विपद्को पूर्वजानकारी सम्प्रेषण गरी जीवन जोगाउन सकिने भएकाले कम्पनीले विभागसँग सहकार्य गरी सेवा सुरु गर्न लागेको बताउनुभयो ।

विभागका महानिर्देशक शर्माले प्राकृतिक विपद् न्यूनीकरण गर्नु दुवै संस्थाको संयुक्त दायित्व भएको भन्दै कम्पनीसँग भएको सम्झौतालाई विभागले दक्षतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वर्षाको मौसममा बाढी पहिरोका कारण धेरै जनता प्रभावित भएको समयमा कम्पनी र विभागबीचको सहकार्यले जनधनको क्षति न्यूनीकरण गर्न प्रभावकारी भूमिका खेल्ने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर