Aamsanchar

प्रचण्ड मुलुकको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित

Author Image
बुधवार, साउन १९, २०७३

काठमाडौँ:

prachnad-new-pm-358x300

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। संसद्को बुधबारको बैठकमा मतदान हुँदा उनी अत्यधिक बहुमतले निर्वाचित भएका हुन्। प्रचण्डको पक्षमा ३६३ मत परेको छ भने विपक्षमा मत २१० परेको छ।

प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बनेका छन्। यअसघि पहिलो संविधानसभाको निर्वाचनपछि गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री पनि प्रचण्ड बनेका थिए। गणतन्त्रपछि दुईपटक प्रधानमन्त्री बन्ने अवसर प्रचण्डलाई मिलेको छ।

२०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भएका प्रचण्ड सेनासँगको द्वन्द्व र कटवाल प्रकरणपछि सरकारबाट बाहिरिनु परेको थियो । प्रचण्डले बर्खास्त गरेका तत्कालीन सेनापति रुक्मांगद कटवाललाई राष्ट्रपतिले पुनस्र्थापित गरेपछि उनले पदबाट राजीनामा दिएका थिए।

प्रचण्डको जन्म २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं २ लेवाडेमा भएको हो। पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुर पोखरीमा सुरु गरेका थिए। २०२६ चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट एसएलसी उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आईएससी पास गरेका थिए। रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी उत्तीर्ण गरी एमपीएसम्मको अध्ययन गरेका छन्। कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरेका प्रचण्डको २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो। पछि उनी प्रचण्डकै नामबाट
बढी परिचित भए।

राजनीतिमा लाग्नुअघि उनी चितवन र नवलपरासीका विभिन्न विद्यालयमा अध्यापन गरेका थिए। विस २०२८ मा नेकपाको पुष्पलाल समूहमा आवद्ध भएर उनले आफ्नो राजनैतिक जीवन प्रारम्भ गरेका थिए। प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए। उहाँ २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालिन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित हुनु भएको थियो । उहाँ वि। सं। २०३८ मा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए।

२०४१ मा नेकपा (मशाल) को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका प्रचण्ड २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री भएका थिए। २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा माओवादी राखेपछि महामन्त्री भएका प्रचण्डकै नेतृत्वमा २०५२ सालदेखि जनयुद्ध सुरु भएको थियो। जनयुद्धपछि मात्र राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचण्डको चर्चा सुरु भएको थियो। २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भएका थिए। २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर बनेका थिए।

दस वर्षलामो सशस्त्र युद्ध त्यागेर प्रचण्ड २०६३ वैशाख ११ को राजनीतिक परिवर्तनपछि खुला राजनीतिमा प्रवेश गरेका थिए। २०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी भूमिगत जीवनबाट सार्वजनिक भएका थिए । २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट निर्वाचित भएका प्रचण्ड २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।

२०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए। २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित भएका थिए। २०७० मंसीरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा उनी सिराहा ५ बाट निर्वाचित भएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर