चौतारा।
सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडित परिवारमध्ये हालसम्म तीन हजार ४३५ जनाले मात्र आवास पुनःनिर्माणको प्रथम किस्ता अनुदान प्राप्त गरेका छन् । जिल्लाका दुई नगरपालिका र ६८ गाविसमध्ये चौतारा नगरपालिकाका केहीले मात्र प्रथम किस्ताबापत रु ५० हजार अनुदान प्राप्त गरेका हुन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण विशेष सम्पर्क कार्यालयका अनुसार हालसम्म ६० हजार ९५२ जनासँग अनुदानको सम्झौता सम्पन्न भएको छ । साथै १२ हजार ४१८ जनाको गुनासोसमेत दर्ता भएको छ ।
विशेष सम्पर्क कार्यालयका अनुसार चौतारा र मेलम्ची–२ नगरपालिका र ५१ गाविसमा अनुदान सम्झौताको काम सम्पन्न भएको छ । बाह्र गाविसमा सम्झौता गर्ने काम जारी रहेको छ भने चार गाविसमा सुरु हुन बाँकी रहेको छ ।
एक गाविस विविध कारणले स्थगित रहेको छ । प्रथम किस्ताबापत रु १७ करोड १७ लाख ५० हजार निकासा पठाइएको छ । इन्टरनेटको गडबडीले कम्प्युटरमा सर्भर नचल्ने कारणले पनि भूकम्पपीडितले समयमै अनुदान प्राप्त गर्न नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
कम्प्युटर सर्भर चलेपछि व्यक्तिपिच्छे खातामा रकम पठाउनुपर्ने र रुजु गर्न मात्र प्रतिव्यक्ति डेढ मिनेट समय खर्चिनुपरेको प्रमुख कोष नियन्त्रक दिवाकर घिमिरेले बताउनुभयो । जिल्लामा लाभग्राहीको सङ्ख्या ७८ हजार ४८४ जना रहेका छन् भने ९५ प्रतिशत घर पूर्णरुपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले जानकारी दिनुभयो । रासस