Aamsanchar

जब सेना सकृय भयो

Author Image
शुक्रवार, साउन २१, २०७३

गाईघाट (उदयपुर) ।

उदयपुरको तपेस्वरी–१ स्थित बेलही क्षेत्रमा त्रियुगा नदीको कटान रोक्न नेपाली सेनाको १८ नम्बर वाहिनीअन्तर्गत भवानी दल गण, बोक्सेको सक्रियतामा ४०० मिटर लामो अस्थायी बाँध निर्माण सम्पन्न भएपछि बेलहीवासी सुरक्षित भएका छन् ।

स्थानीय प्रशासनले चार हजार बोरा उपलब्ध गराएपछि १८ गतेदेखि दुई दिनसम्म सेनाको सक्रियतामा बोरामा बालुवा भरेर त्रियुगा नदीले कटान गरेको स्थानमा अस्थायी बाँध निर्माण गर्ने कार्य सम्पन्न भएको कुरा भवानीदल गण बोक्सेका गणपति सुमन खड्काले बताउनुभयो ।

अस्थायी बाँध निर्माण गर्नका लागि स्थानीय जनताले समेत ढुङ्गालगायत बाँस उपलब्ध गराएपछि जनतासहितको सहभागितामा ४०० मिटर लामो अस्थायी बाँध निर्माण भएको सेनाले बताएको छ । बाँध निर्माणमा भवानी दल गणका ८० जना सेनाका जवानसहित त्रियुगा सशस्त्र प्रहरी गुल्म र स्थानीय प्रहरी गरेर १२५ जना सुरक्षाकर्मीको नेतृत्वमा स्थानीय जनताको सहभागितासहित उक्त बाँध निर्माण कार्य सम्पन्न भएको गणपति खड्काले बताउनुभयो ।

यही साउन १० देखि १२ गतेसम्म निरन्तर वर्षासँगै आएको भीषण बाढीले बेलही क्षेत्रमा धेरै भूभाग कटान गर्दै त्रियुगा नदी गाउँ प्रवेश गर्न लागेको थियो । स्थानीयवासीले जिल्ला प्रशासन तथा सुरक्षा निकायमा हारगुहार मागेपछि आफूहरुले गाउँ बचाउन अस्थायी बाँध निर्माण गरेको सेनाले बताएको छ । बाँध निर्माण सम्पन्न भएपछि आफुहरुले अब सुरक्षित महसुस गरेको बेलहीका स्थानीय समाजसेवी मदन कार्कीले बताउनुभयो ।

कार्की भन्छन्, “लामो समयदेखि त्रियुगा नदीले कटान गर्दै आएर यसपटक गाउँ नै बगाउने परिस्थितिमा पुगेको बेला सेना र सुरक्षा निकायको सहयोगमा आफूहरुको गाउँ सुरक्षित भएको छ, हामी सुरक्षा निकायका महानुभावसँग आभारी र ऋणी छौँ ।”

अस्थायी बाँध निर्माण कार्य सम्पन्न भएपछि बेलही र भागलपुर क्षेत्र गरेर झन्डै एक हजार ८०० घरपरिवारको बाह्र हजार जनसङ्ख्या सुरक्षित हुन पुगेको कुरा सेना तथा स्थानीय जनताले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर