काम, काम र काम । कामभित्रै मिसिउँजस्तो लाग्छ, नायिका अनामिका चौलागाईंलाई । त्यसैले त उनी भन्छन् ‘जीवन संघर्ष हो, जति गरे पनि सकिँदैन ।’
काभ्रेको पाँचखालमा सामान्य परिवारमा जन्मिएकी अनामिका करिब आधा दशकदेखि कलाकारितामा सक्रिय छिन् । उनले दुईवटा चलचित्रमा भूमिका निभाएपछि यो क्षेत्र नै छोडेर बसिन् । ‘मभित्र कलाको नशा बसिसकेको रहेछ’, उनले भनिन्, ‘अरू नै पेसा व्यवसाय गर्ने कोसिस गरेँ, सक्दै सकिनँ ।’
न्युरोडको बालसेवाबाट एसएलसी गरेकी उनी काभ्रेमै हुँदा कक्षा ६ मा पढ्दै गर्दा असल एक्टरको परिचय बनाउन सफल थिइन् । विद्यालयमा मञ्चन गरिएको नाटकमा एक पीडित नारीको रूपमा रोइन्, तड्पिन र अन्त्यमा विषसमेत सेवन गरिन् । हेर्दाहेर्दै दर्शकदीर्घाका मानिस भक्कानिए । दर्शकमात्रै होइन विद्यालयका गुरुहरूले पनि ‘तिमी असल कलाकार बन्न सक्छ्यौ’ भनेपछि उनलाई यही क्षेत्रमा भविष्य बनाउने दृढता बढ्यो ।
‘९ कक्षा पढ्न म राजधानी आएँ’, अनामिकाले भनिन्, ‘त्यहीबेलादेखि मैले डान्स सिकेँ, एक्टिङ सिकेँ, द्वन्द्व सिकेँ ।’ आफूमा सक्षम कलाकारिता गर्न चाहिने सीप भएको महसुस भएपछि उनी चलचित्र क्षेत्रमा लागिन् । ‘मैले ठेगाना चलचित्रबाट डेब्यु गरेँ’, अनामिकाले भनिन्, ‘मैले डान्सर या मोडेलको रूपमा आफूलाई तयार पार्न खोजिनँ, एउटा असल एक्टर बनाउन चाहेँ र त्यही गर्दै आएकी छु ।’
मेट्रो कलेजबाट प्लस टु पास गरेकी अनामिका यतिबेला स्नातक तहमा अध्ययनरत छन् । ठेगानापछि उनले ‘प्राणभन्दा प्यारो’, दयाराम दाहालको ‘लै बरी लै’ र हरि उदासीको ‘साथी तिमी नै हौ’ मा नायिकाको रूपमा अभिनय गरेकी छन् ।
कलाकारले गर्ने कलाकारिता नै हो, त्यसका लागि धेरैले धेरै किसिमका सम्झौता गर्ने गरेको अनामिकालाई राम्ररी थाहा छ ।
तर उनले फिल्मका लागि गरिएका तमाम सम्झौता थन्क्याएकी पनि छन् । ‘दुई, तीनवटा चलचित्रमा खेल्ने भनेर गरिएका सम्झौतापत्र मेरो घरमा छन्’, अनामिकाले भनिन्, ‘सैद्धान्तिक रूपमा राम्रो लागेर सम्झौता गरेँ, व्यावहारिकतामा राम्रो लागेन, मैले थन्क्याइदिएँ ।’
कलाकारितामा हुने अनेकन ‘कम्प्रमाइज’ आफूमा भर पर्ने उनी बताउँछिन् । ‘कलाकार बन्न कला चाहिन्छ, रातारात हिट हुन्छु भनेर जे पनि गर्नेका लागि जस्ता पनि कम्प्रमाइज गर्नुपर्ने हुन्छ जस्तो लाग्छ’, उनले भनिन्, ‘म काममा विश्वास गर्छु, भोलि नै मलाई स्टार बन्नु छैन, मत काम गर्दागर्दै काममै मिसिउँजस्तो मात्रै सोच्छु ।’
जीवनलाई संघर्षको रूपमा लिने अनामिकाले यस क्षेत्रका धेरै व्यवहार, बानी र धारणा बुझेर पुनः फर्किएकी हुन् । प्रेमलाई उनी जीवनको परिपूरक ठान्छिन् । जोसँग पनि जस्तोसुकै रूपमा प्रेम हुन सक्ने उनको विश्वास छ । अन्नपूर्णका अनुसार प्रेमजस्तै पीडाले पनि जीवनमा धेरै थोक सिकाउने उनले बुझेकी छन् ।
सेक्स प्राकृतिक आवश्यकता भए पनि यसको मर्यादा हुनुपर्ने उनी बताउँछिन् । ‘हो, सेक्स प्राकृतिक आवश्यकता हो तर विवाहअघिको सेक्स हाम्रो समाजलाई पाच्य हुँदैन ।’