काठमाडौँ।
मुलुकमा व्यावसायिक सीप तथा क्षमता अभिवृद्धि गर्न सकेमा त्यसले रोजगारी सिर्जना गर्नेमा जोड दिइएको छ ।
दक्षिण कोरियास्थित चाङ्गोन नेसनल युनिभर्सिटीद्वारा आयोजित कोरियाली भाषा तथा सूचना र सञ्चार प्रविधिसम्बन्धी तालिमको समापन कार्यक्रममा सहभागीले अबका युवालाई प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्ने सुझाए ।
भक्तपुरस्थित सानो ठिमी क्याम्पसका प्रमुख सहप्राध्यापक रामचन्द्र घिमिरेले देशमा कोरियाली पर्यटकको आकर्षण बढेका कारण सो भाषा सिक्नुपर्ने औँल्याउनुभयो ।
सो विश्वविद्यालयका डिन प्रा जङडाइ योङले नेपालका विपन्न वर्गका लागि यस किसिमको तालिमको व्यवस्था गरिएको र आगामी दिनमा यसलाई अन्य स्थानमा समेत विस्तार गरिने जानकारी दिनुभयो । विश्वविद्यालयका प्रा हवङ मिन टाईले भक्तपुर र कीर्तिपुरमा कोरियाली भाषाका साथै सूचना र सञ्चार प्रविधिका लागि आवश्यक सामग्रीसहित प्रत्येक वर्ष करिब रु एक करोड उपलब्ध गराइने जानकारी दिनुभयो ।
यही साउन १७ गतेदेखि सुरु भएको उक्त कार्यक्रममा प्रारम्भिक भाषा, इन्टरनेट, इमेल, अफिस प्याकेज लगायत तालिम दिइएको थियो । कार्यक्रमबाट २० जना लाभान्वित भएका थिए ।
तालिममा सहभागी सलोमा मगरले तालिमबाट सो भाषामा परिचय गर्न सक्ने र सिकेका अनुभवले आत्मविश्वास राम्रोसँग बढेको बताउनुभयो ।