पेशाले नर्स हुन् उनी । अक्सफोर्ड ब्रुक्स युनिभर्सिटीबाट बीएस्सी नर्सिङ गरेपछि ग्रेट वेष्टर्न हस्पिटलमा दैनिक १२ घण्टाको सिफ्ट गर्छिन् । तर, केही सातादेखि उनको परिचय फेरिएको छ ।
उनी अर्थात फिमेल बिकिनी फिटनेश २०१६ प्रतियोगिताकी विनर कविता पुन । यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेशले बेलायतमा गरेको पहिलो फिमेल बिकिनी फिटनेश २०१६ प्रतियोगिता जितेपछि बधाइ लिँदैमा भ्याइनभ्याइ छ २९ वर्षीया पुनलाई ।
बेलायतको व्यस्तताबीच उनले आफ्नो शरीर आकर्षक बनाएर उपाधि नै जितिन् । उनी सातामा ५ दिन जिम गएर अभ्यास गर्छिन् । तीन वर्ष भएछ नियमित जिम सुरु गरेको खबर छ ।
‘मिल प्लानमै बढी ध्यान दिन्छु म,’ उनले फिट हुनुको राज सुनाइन्, ‘म दिनमा ६ थरीका फरक फरक खाना खान्छु ।
लामो समय भोक खपेर नबसी भोक लागेपछि खाइ हाल्छु । खासगरि ब्राउन राइस, ग्रील चिकेन ब्रेस्ट, ब्रोकोली, भेजिटेबल, स्वीट पोट्याटो, फ्रोजनभन्दा फ्रेस भेजिटेबल खान्छु । अनि नुन, चिल्लो पिरो कम खान्छु ।’
उनी कसरी भ्याउलिन् फिटनेशमा समय दिन ? भन्छिन्, ‘समय व्यवस्थापन र इच्छा शक्ति नै मुख्य रहेछ ।’
स्कुल पढ्दादेखि नै भलिबल, बास्केटबल खेल, रनिङ गर्थिन् उनी । हाल ५ फिट ३ इन्च उचाईंकी कविताको साइज ६ (यूके) छ ।
डाइट प्लानले फिटनेश कम खर्चिलो छैन् । तर, भित्री सौन्दर्यमात्र होइन, महिला बाहिरबाट हेर्दा पनि आकर्षक देखिनुपर्छ भन्ने मान्यता राख्छिन् कविता ।
सुरुसुरुमा कार्डियोमात्र गर्थिन् उनी, पछि हेभी वेट उचाल्ने र अरु कडा अभ्यास थालिन् । ‘मानिसहरु केटी भएर केटा मान्छे जस्तो बडी बनाउनु हुन्न भन्थे तर त्यस्तो होइन ।
केटाहरुमा हुने हर्मोन बेग्लै हुने भएकाले महिलाहरुले पनि बराबर एक्सरसाइज गर्नुपर्छ,’ उनको सुझाव छ ।
कविता आफ्नी बहिनी सविता पुनका साथ जिम गएर अभ्यास गर्छिन् । सविताले उक्त फिटनेश प्रतियोगितामा रनरअपको उपाधि जितेकी थिइन् ।
सन् २००८ मा बेलायत आएकी भूपू लाहुरे सुपुत्री कविता स्वीन्डन बस्छिन् । ज्यादै हेक्टिक छ उनको पर्सनल लाइफ । ‘बाहिर डुल्दिनँ । काम, जिम र परिवारले नै समय बित्छ । साथीहरु हामीलाई भेट्दिनस् भनेर खुब रिसाउँछन्,’ उनले बाध्यता सुनाइन् ।
कविताले आगामी दिनमा बेलायतको राष्ट्रिय स्तरको फिटनेश प्रतियोगितामा भाग लिने अठोट राखेकी छिन् ।
‘गर्न मन लाग्दा पनि नेपाली समाजले के भन्ला भन्ने पीर छ,’ उनी आम महिलाको पीडा सुनाउँछिन्, ‘तर, अब जमाना फेरिएको छ, केटा केटी समान हुनुपर्छ भन्ने मलाई लाग्छ ।’