Aamsanchar

पाथेकाको दम्दी पहिराको उच्च जोखिममा

Author Image
मङ्गलवार, साउन २५, २०७३

खोटाङ ।

11666289_885535238205365_1492457243346264310_n-800x445

जिल्लाको उत्तरी गाविस पाथेका–७ दम्दीका ५० भन्दा बढी घर पहिराको उच्च जोखिममा परेका छन् ।  मानव बस्तीभन्दा करिब एक हजार मिटरमाथि रहेको हात्तीसुँढे भिर फाटेर पहिरो खस्न लागेपछि दम्दीका स्थानीयबासी पहिरोको उच्च जोखिममा परेका हुन् ।

वर्षाका कारण पाथेका–९ र ७ को सिमानामा पर्ने हात्तीसुँढे भिरको ठूलो ढुङ्गासहितको ढिस्को जुनसुकै बेला बस्तीमा खस्ने खतरा बढेकाले स्थानीय त्रासमा बस्न बाध्य बनेका छन् । विसं १९९० सालको भूकम्पले एक फुट फाटेको भिर अहिले चार मिटरभन्दा बढी फाटिसकेकाले गाउँमा पहिरो खस्ने त्रास बढेको हो ।

बर्सेनि फाट्दै गएको भिर वर्षायाममा खस्ने सम्भावना बढी भएकाले दम्दीका स्थानीय वर्षा सुरु भएसँगै ढुक्कले निदाउन सकेका छैनन् । वर्षा सुरु भएपछि कतिपय स्थानीय घर छाडेर आफन्तकामा राति बास बसेर बिहान घर फर्कने गरेका स्थानीय धनप्रसाद गिरीले जानकारी दिनुभयो ।

सदरमुकाम दिक्तेलबाट करिब पाँच कोश उत्तरमा पर्ने पहिरोबाट मानव बस्तीबाहेक स्थानीय लालकिरण प्रावि समेत जोखिममा परेको छ । २०६९ साउन ८ गते सार्वजनिक गरिएको सङ्कटाभिमुख समुदाय अवस्था अध्ययन प्रतिवेदनमा २०४५ सालमा एक फिट फाटेको भनिएको भिर अहिले चार मिटर फाटेको छ ।

बर्सेनि भिर फाट्दै गएपछि आफूहरु चिन्तित बनेको पाथेका–७ दम्दीका ७६ वर्षीय वृद्ध दलबहादुर राईले बताउनुभयो । “हामी राम्ररी निदाउन सकेका छैनौँ,” उहाँले भन्नुभयो, “यसप्रति राज्यको ध्यान जान जरुरी छ ।” रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर