उर्लाबारी (मोरङ) ।
उत्तरी मोरङको पर्यटकीय स्थल लेटाङ भोगटेनी–४ को राजारानी क्षेत्रमा १५ दिनदेखि अवरुद्ध सडक सोमबारदेखि खोलिएको छ ।
स्थानीय तथा राजनीतिक दलको पहलमा अवरुद्ध सडक खुलाउन लेटाङ भोगटेनी नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता दिएपछि सडक खोल्ने काम गरिएको हो । रत्नमार्गको लोखरा क्षेत्रदेखि उत्तर राजारानी डाँडासम्मको करिब दुई किलोमिटर सडक क्षेत्रमा खसेको माटोको ढिस्को तथा ढलेका रुखका कारण अवरुद्ध सडक एस्काभेटर लगाएर खुलाइएको हो ।
पन्ध्र दिनदेखि सडक अवरुद्ध भई सवारीसाधन नचल्दा लेटाङ भोगटेनी नगरपालिका वडा नं १, २, ३ र ४ तथा सिंहदेवी गाविसका सर्वसाधारण समस्यामा पर्दै आएका थिए । बाटो अवरुद्ध भएपछि दैनिक प्रयोग गरिने खाद्यान्नको अभाव भएको तथा ती क्षेत्रमा उत्पादित कृषि उत्पादनलाई बजारसम्म ल्याउन नसकिरहेको अवस्थामा बाटो खुलेसँगै सङ्कट टरेको स्थानीय युवाले बताएका छन् ।
अवरुद्ध सडक खुलाउन लेटाङ भोगटेनी नगरपालिकाले १० घन्टा एस्काभेटर चलाउने रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको पनि स्थानीय विष्णु मगरले जानकारी दिनुभयो ।