[मनोज भटराई]
अमेरिका
कथा
नश्लवादी भएर हेर्दा मेरा बा आर्यमुलका ब्राह्मण मनुवा । मलाई कसैले पाहाड कहाँ भनेर सोधे तेह्रथुम, आंङ्गदिम भन्छु तर म खासमा म मधेशी ब्राह्मण, जन्म मधेशमै भएछ झण्डै तीन दसक अघि। मधेशी, आदिवासी,जनजाति र खस-आर्यको मिश्रित बसोवास भएको पूर्व रतुवा र पश्चिम बक्रा नदिले च्यापेर राखेको मेरो गाउँ। हाम्रा बाजे उ बेला २७/२८ साल ताका नै मुष्ठ परिवार सहित मधेस झरेर राजा महेन्द्रको पुनर्वास पाएर बसेका रे। पापी पेटको अर्ध भोजन र पहाडको दुःख। त्यही भएर औलोको पर्वाह नगरी धानको भात खाएर डकार्ने धोको बोकेर ओर्लेका रे मधेश तिर, कठै! अहिले आएर सम्झिदा पनि कहिलेकाही बाउको भाग्यमा खोट देख्छु म। कम्तिमा मधेस झर्दा मधेस र चुरेको संगम स्थल तिरै पोको पुन्तुरो बिसाएका भएनी आज त्यही जमिन सुनको मूल्य हुन्थ्यो। यत्रो चटारो त पर्थेन नी! सुनको भाउमा घडेरी बेचेरै मालामाल हुन्थे। कौडिको भाउ नपाउने ठाउँमा भारी बिसाएछन।
हुन त बाउ बाजेको पुस्तौनी पेशा खेती किसानी, हलो,कोदालो भनेर नि के धिक्कार्नु?? अब त त्यही गर्न पनि कहाँबाट पाउनु। वर्मा गए कर्मसंगै भने झै आ-आफ्नो भाग्य। लाग्थ्यो त्यही भाग्य पनि छैन मेरो कर्ममा त सायदै। कम्तीमा बाले त असारमा रोपेको धान मंसिरमा अलि अलि भएनी भित्र्याउथे। फेरि,कुनै कुनै साल त लाग्थ्यो कि बाको भाग्य त गज्जबकै छ। साला पधेरो किरो र डढुवा रोगले धानको बोट भसक्कै पारे पनि लास्टाआ खान पुग्ने धान त जेनेतेने फलेकै हुन्थ्यो। मंसिरमा बाको थोरै अनाज सुख संगै मेरो पनि निम्सरो भाग्य खुले झै हुन्थ्यो।मेरो भाग्यको श्रेय चाहिँ खासमा मंसिरमा सातवटा स्वास्नी भित्र्याउने मुसालाई जान्छ। मुसाको प्वाल खन्यो २/४किलो धान हात पर्ने। त्यसमा २/३ किलो सिला खोजेर थपथाप। जम्मा जम्मी ५/७ केजि।
हाम्रो देशको विद्यालय नीति पनि काईदाकै हुन्थ्यो। कृषिप्रधान देश खेती गर्न जनशक्ति चाहिन्छ भनेर बर्खे बिदा, हिउँदमा बाली थन्क्याउन हिउदे बिदा। हिउदे बिदाको तुलनामा बर्खे बिदा कास्टी नै हुन्थ्यो। बीउ काढ, आलि लगा, बाउसे गर, बीउ फिजा फाईदा केही नहुने बोनसमा चाम्रे र चना तरकारी। अरुबेला त त्यही पनि नभेटिने। बिहान काम गर भात खाउ, स्कुल जाउ। साझ आउ फेरि काम गर भात खाउ, नियती नै यहि। तर हिउँदमा त थोरै भएनी काईदै हुन्थ्यो। पेवा धान बेचेर आम्दानी गर्ने।
गाउँभरी हल्ला चल्थ्यो। डडाघरेको छोराले यो चिज पेवा बेचेर, मोटे कार्किको छोरिले त्यो चिज पेवा बेचेर, फल्नाको छोरोले के जाती, चिल्नाको छोरोले उ जाती पेवा बेचेर नयाँ जिनिस प्याट किन्यो रे, जुत्ता किन्यो रे, अम्रेला कुर्ता किनि रे, सुनको बुलाकी लाई रे। के के हो?के के? अब त मलाई पनि सुर चढ्यो। यो वर्ष त केहि गर्ने हो। साला सिला धान बेचेको पैसाले कुखुरो पेवा पाल्ने। खोइ मेरो भागमा त भावीले पनि के लेख्या हो। त्यही सिला धान बेच्न लाग्दा पनि ठग त्रिखुट्टी बनिया( घोडामा चढेर धान किन्न आउने ब्यपारी) ले ७ केजि धानलाई ५ केजि बनाई दियो। पेवा श्री गणेश नगर्दै नराम्रो झड्का त लागि हाल्यो तर पनि जसोतसो १५ मोहोर दाम त हात लाग्यो। त्यस पछि सिद्दै लागे सुब्बिनी दिदिकोमा। सुब्बिनी दिदी रक्सी र कुखुराको त गाउँको खुङ्खारै ब्यपारी। खै जाडको कट खाएर हो या के भएर हो, दिदिका पोथी पनि जक्कड भालेसंग जोरि खोज्ने हाक्की। कतिपय गाउँका महिलाहरु त आफ्ना पोथी सुब्बिनी दिदिकोमा गत्तिलो भालेको बीउ लाउने भनेर लिएर जान्थे। आफ्नो त पोथी माउ किन्ने हैसियत पनि हैन पुग्दो रुपियाँ पनि छैन। तर, दिदिकोमा साच्चिकै साईत जुराएर गए जत्तिकै भयो। पोथी माउले चल्ला कोरलेको पनि भर्खर १५/२० दिन भएको रहेछ। कुरै कुरामा मैले सुब्बिनी दिदिलाई भने, दिदी म पनि पेवा कुखुरो पाल्नु पर्यो एउटा चल्लो बेच्नु हुन्छ?? सुब्बिनिले जसोतसो दिने त भइन तर एउटा अड्को थापिन,चल्लाको सिउर त पलाको छैन´ भाले पोथी छुट्टिदैन तलाई कसरी दिउ सानो बाजे?? म त के पो गरौ?? रना छुटेर आयो। पछि किनौ बजेटले नभ्याउने अहिले किनौ लिङ्ग नछुट्टिने। जेनेतेने दिदिलाई अनेक बिन्ती बिसाउदा बिसाउदा दिने त भईन तर बिहान लिन आईजो भनिन। कहिले कहि बज्यैले भन्नू हुन्थ्यो। साझमा कसैलाई पैसो दिनुहुन्न लक्ष्मी जान्छ, घरको सह जान्छ। पैसो दिउ त बज्यैको बात नदिउ त चल्लो उम्कने रात। मनमनै सोचे आ भैगो, बिहानै आउछु एक हात से लेना एक देना´।
पेवापती भाको दिन कुरै अर्को। फेरि यो पेवा भन्ने चिज अचम्मकै हुने। आफ्नो भन्दा माया, चाहे दोपाया होस या चौपाया, चाहे सुन होस या घुन। पड्के सुलि मर्ला भन्ने डर। उता माल्दाई पेवा जोड्यो भनेर रिसले चुर भएर संगै सुत्न नि छोड्यो। ब्राह्मणको घर फेरि बाजे पनि जजमान। यहि कुखुरा पाल्ने छुट पनि ठुलै क्रान्ति गरेर पाएको अधिकार जस्तो। पाल्न त बल्लतल्ल छुट पाईया छ। घर भित्र हुल्न त नचिताए पनि हुने। न त सुब्बिनी दिदिकोमा जस्तो खोर छ त्यसमाथि कुखुरा चोरको गाउँभरी बिगबिगी। पिरलो माथी पिरलो। आज त घर बाहिरै बसिने भैयो गाई गोठमा चल्लो रुगेर। रतभरी एसोपको कथामा जस्तो विभिन्न कल्पना गर्दै चल्लोलाई चारो हाल्दै बस्दा बिहानिपख कतिबेला निदाएछु पत्तै भएन। उज्यालो भएपछी म एउटा खोर बनाउने निर्क्योलमा पुगे अनि जेनेतेन बाँसका भाटा र पाटाको डोरिले बाधेर सानो चिटिक्कको खोर पनि बनाए। अब मलाई प्रत्येक बिहानीको व्यग्र प्रतीक्षा हुन्थ्यो। पढ्न बस्दा कन्दङ्वा सरको एक पातो गृहकार्य नसक्दै निदाउने म रातभर निदाउन नसक्ने भए। सिउर पलाउदै गएपछि निश्चित भयो। यो पक्कै पोथी हो भनेर। तब त मेरो भुईमा खुट्टा पनि थिएनन। मेरा साथी फणिन्द्रे,आकुते, आलाकाने, ताङ्चेको अगाडि धाक-धक्कु र रवाफको त कुरै छाडौ लाग्थ्योकी पंचायत भरी चाहिने कुखुराको माग मेरै हुनेवाला पोथी माउले पुर्ती गर्दिन्छे। आम्दानी त कति कति अण्डा बेच, कोरली बेच, भाले बेच, ह ?
बुढापाकाले भन्थे पोथी बास्नु अलच्छिन अथवा अशुभको संकेत हो। नभन्दै मेरो कोरली पोथी घरको संघारमै टाटी माथी चढेर क्याक्याक्या गर्दै तोते आवजमा बासी। अब घरमा नयाँ बहस र छलफलले प्रवेश पायो। आमैले त घरको बरण्डाबाटै मकैको झुत्ताको झाट्टी हान्नु भयो। धन्न मेरो पोथी भाग्यसाली रैछे कसो कसो तर्केर बाची। सधै तीन थाल भात हसुर्ने बढ्दो उमेरको मान्छे। त्यस दिन राती त एक थाल पनि गएन। आमैको त पोथीसंग ठुलै दुश्मनी थियो थियो अब त बाले पनि कराउन थाले, `एक त बाहुनको घर पाल्नै नहुने´ त्यस माथी मुल ढोकाकै संघारमा आएर बास्यो रे। कि यस्लाई भोलि नै बेचिहाल नत्र झट्टि हानेर मार्दिन्छु। बा कड्के पछि आमैले पनि थपी हालिन । झन् माल्दाईलाई उखरमाउलो भा थ्यो झनै सहि थपी हाल्यो। एक किसिमले सोच्न थाले कुन दिन चाहिँ बाहुन भएर जन्मे छु। कम्तिमा लिम्बू भएर जन्म्या भए त यस्तो पिडा खप्नु पर्दैन थियो। त्यसै काठा बाहुन त भन्या हैन रैछन, उफ्फ!! आमै त यस्तो रिसाएकी थिन कि मान्छे भए फाँसी नै सजाय दिनुपर्ने अपराध गरे जस्तो, त्यो निर्दोष पंछीसंग। सोच्थे पोथी जातको चै बास्ने र हास्ने अधिकार नै रहेनछ क्या हो?? त्यो रात त मलाई ठुलै बज्रपात नै परे झै भयो। न कोहि ढाडस दिन्छ न सान्त्वना। मनमनै उज्यालो नै नभए हुन्थ्यो झै लाग्थ्यो तर किन रोकिन्थ्यो समय, ज्ञात पीडा बोकेर उदायो घाम। फेरि त्यही कुरा, त्यही गनगन। मेरो पोथीमाथी घोर अन्याय भै रहेको थियो। मेरो मनको पीडा छचल्किएर अँखाबाट आशु बग्न थाल्यो। यो देखेर ठुल्दिदिलाई माया लागेर आएछ र आशावादी बनाउदै भन्नू भयो, नरो भाइ म बचाईदिन्छु तेरो पेवालाई। मलाई त भित्र भित्रै डढेको घाउमा मलम लगाए जत्तिकै भए पनि अझ बढी विश्वास र सहमति पाउन रुन छोडिन। ठुल्दिदी घरको जेठिबाठी बा आमैले पनि कुरो खाने। आखिर यो पटक मेरो आश र पोथिको सास बच्यो। मेरो लागि ठुल्दिदी भगवान् अवतारी भईन। अब त दिदिले कहिलेकाही लगाउने दुई चार झापु पनि स्विकार्य। गुनको ऋणि भैयो क्यारे।
दिनहरु बित्दै गए। पोथिको आयुसंगै मेरा सपनाहरू पनि बढ्दै थिए। एक्कासि गाउँ गाउँमा कुखुराको महामारी/ हैजा चल्न थाल्यो। अब त ठुल्दिदिले पनि मेरो पोथिको सास बचाउनेवाला थिईनन। मैले कक्षा-५ तिरै पढ्दा सरुवा रोगको रोगथामका उपयाहरु जानिसकेको थिए। खिया परेको दिमाग भए पनि यो पटक जुक्ति फुरेकै माने मैले। यदि मेरो रुपवती पोथिलाई हैजाग्रस्त भाले अथवा अन्य कुखुराको सम्पर्कमा जान नदिएमा र हैजाले अल्प आयुमा परमधाम भएका कुखुरालाई तुरुन्तै गाडधन बनाएमा हैजा सर्दैन। म आफ्नो पोथिलाई बचाउन डोकाले छोपेर स्कुल नगइकन कुखुरे जल्लाद जस्तै गाउँभरिका कुखुरा गाड्दै हिडे। भोलि पल्ट स्कुलमा स्पष्टीकरण दिने समय पनि नपाईकन छत्रपती सरको हात बाट दरै कुटाइ खाइयो। तर मलाई कुनै प्रवाह थिएन बरु अझ आफुलाई भाग्यमानी र गौरवशाली महसुस गरिरहेको थिए किनकी गाउँभरिका कुखुरा मरेपनी आफ्नो पेवा बचाउन सफल भएकोमा।
साझ स्कुलबाट घर गए, डोकाले छोपेकै ठाउँमा पोथिले अण्डा पारेछ। खुशिले भावविहोर भएर उफ्रिन थाले। मेरो भुईमा खुट्टै थिएनन। अब त माल्दाई राती म संगै सुत्ने भयो। दुईतीन दिन पछि राती माल्दाईले एकाएक फकाउदै भन्न थाल्यो, हेर आज सम्म तिनवटा भोलि चार गर्दा गर्दै अण्डा त कति कति अब तँ र म भएर उसिनेर खानु पर्छ। एकमनले यसो सोचे अस्ति मादेन कान्छाको छोरो कैलेले खान्छ्स समेत नभनी ग्वामकी ग्वाम अण्डा खाएको देख्दा त बजाई दिउकी जस्तो लागो। आज सम्म अण्डाको स्वाद पनि लेको छैन, फेरि अर्को मनले भन्छ, हैन चल्ला कोरल्न दिनु पर्छ। तर हैन हैन माल्दाई आफ्नो बनाउने बेला पनि यहि हो। एउटा अण्डा खुवाईदिए पछि यो पनि मेरो रिस गर्दैन थियो। अन्तिम निर्णय गरे,, ल हुन्छ।मलाई त दोहोरो फाईदा हुने भो। माल्दाईले रिस पनि नगर्ने र यदि कहिलेकाही मसंग निहुँ खोज्यो भने आमैलाई सुनाईदिउ तैले अण्डा खाएको कुरो भनेर मुखमा ताला लगाईदिने। मेरो त ब्रतबन्ध पनि गरेको छैन। कुश सिउरिन पनि हिड्दिन्न, नाग टास्न पनि जान्न। माल्दाईको त यो मौसमी आम्दानीको स्रोत हो। आहा अण्डा खुवाएपछी त माईलोलाई राम्रै छिर्के हानिने भईयोनि।
खाएको अण्डा कटाएर पनि पोथिले १४ वटा अण्डा पारी। अब १४ वटा अण्डा संगै मेरा थप १४ वटै योजना बन्न थाले। सुनवर्षी मेला जाने, पाण्डा जुत्ता किन्ने, जिन्स प्यान्ट किन्ने के के हो के के। नभन्दै पोथी ओथारा बसि। मलाई लाग्थ्यो यो त सुत्केरी हुने बेला जस्तै हो त्यसैले यसलाई टन्न चारो दिनु पर्छ। आमैको आँखा छली छली म दिनहुँ मकै, गहुँ , धान पोथिलाई चारो दिन्थे। एक दिन त आमैले देखे पछि कराउन थालिन, `मुखमा मोहि छैन कन्नामा घिउ´ बल्लतल्ल राखेको गहुँको बीउ सक्ने भइस हैन?? यहि मतुवालिको शिकारलाई खुवाएर, गु खाने जातलाई अनिकालको बीउ। चल्ला कोरल्ने दिन आउदै गर्दा उत्साहहरु पनि बढ्दै थिए। भन्न त ओथारा बसेको २०/२२ दिनमा कुखुराले चल्ला कोरल्छ भन्थे बुढाबुढी तर अंह २५/३० दिन हुदा पनि चल्ला कोरल्दैन त ?? म मनमनै आफुलाई आफै सान्त्वना दिन्थे, अलि ठुलै चल्ला कोरल्ला त्यही भएर धेरै समय लागेको होला। ३५ दिन कट्दा पनि चल्ला नकोरले पछि मलाई निश्चित भयो कि यसले चल्ला कोरल्दैन। त्यही राती मैले ओथराका सबै अन्डा गुपचुप तरिकाले मलखाडिमा लगेर गाडिदिए। यदि यो कुरो घरका मान्छेले थाहापाए भने मेरो भाग्यलाई त्यो पोथिको भाग्यसंग जोड्न सुरु हुन्थ्यो। रातभरि मनमा बिरह जागेर आयो। नानाभाति कुराहरु दिमागमा खेल्न थाले। यसै बिच म आफ्नो तग्दिरलाई धिक्कार्दै एउटा अप्रिय निर्णयमा पुगेकी पोथिलाई बेचिदिने। मेरो पोथी बेच्नलाई पनि यो उत्तम समय थियो। हैजाले गाउँका सबै कुखुरा सिद्दिएको बखत दाम पनि राम्रो आउने। नभन्दै लाहुरे दाईको छोरा बब्लु अस्ति मात्र हङकङ्गबाट आएका रहेछन। साझ छोरोलाई लोकल कुखुराको मासु ख्वाउने धुनमा लाहुरे दाइ लोकल कुखुरा खोज्न भौतारिदै रहेछन। दुबै जनालाई ढुङ्गा खोज्दा देउता मिले झै भयो। पैसावाला लाहुरे दाइ मलाई पनि रु १५० जति दामको कुखुराको रु २५० मोल हात लाग्यो। रु १५ मा किनेको चल्लो जे जस्तो चुनौती सामना गरेपनी रु २५० नगद हातापर्दा मनमनै दंगदास भए।
भोलिपल्ट बिहानै भित्र खुशी भए पनि बाहिर चाहिँ दुखित भएको बहाना गर्दै सुब्बिनी दिदिकोमा गएर तपाईंले बेचेको चल्लो पोथी भएर पनि दुर्गुणी भएको र ओथारा बसेर पनि चल्ला नकोरलेको वृतान्त सुनाए। यति सुनेपछी सुब्बिनि दिदिले झर्केर भनिन, यो जातले पनि पाउनु पर्योनी पाल्नुलाई। आनि सप्पै भाले हैजाले मरेको बिर्सियो। कतै भाले नलागेको बतासे अन्डाबाट पनि चल्लो हुन्च?? यो काठा पोनि। तब त म जवाफ सुनेर झसङ्ग भए।
आखिरकार मेरो पोथिले उस्को जिवनसंगी नपाउदै अनायसै अबुझ लान्छनाको सिकार भै। खै मेरो भाग्य कमजोर वा त्यो पोथिको या मैले भाग्य बुझ्न/चिन्न नसकेको।