Aamsanchar

बालगृहको नाममा धर्मप्रचार,सर्वत्र विरोध

Author Image
बुधवार, साउन २६, २०७३

चितवन ।

बालगृह सञ्चालन गरेर धर्म प्रचार गर्नुका साथै बालअधिकारको कुण्ठित भएको आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

सुन्दर नेपाल सरसफाइ अभियानले आयोजना गरेको बाल अधिकारसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बालबालिकाको इच्छा विपरीत कुनै पनि काम गराउन नहुने बताएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले गैरकानुनी रुपमा बालगृह सञ्चालन गर्ने, फर्जी प्रमाणपत्र पेस गर्ने बालगृह सञ्चालकलाई बालहिंसा र मानव बेचबिखनको अभियोगमा मुद्दा दर्ता गरिने बताउनुभयो ।

अनाथको नाममा गैरजिम्मेवारी काम गर्न कसैलाई पनि कानुनले छुट नदिएको भन्दै उहाँले विभिन्न प्रलोभनमा पारी बालबालिका बालगृहमा ल्याउने कार्य रोक्न प्रशासन सक्रिय भएर लाग्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला न्यायाधिवक्ता मणिराम न्यौपानेले बालगृहको नाममा सिरानीमा बाइबल राख्न लगाइन्छ भने त्यस्ता बालगृहलाई मुलुकी ऐनअन्तर्गत तीन वर्ष कैद सजाय हुने बताउनुभयो । उहाँले भन्नुभयो “धर्म प्रचार गर्नु छ भने धार्मिक विद्यालय सञ्चालन गर्न सकिन्छ, बालगृहका नाममा धर्म प्रचार गर्न पाइदँैन ।”

बालगृह सञ्चालन गरेर बालबालिकाको खानपानमा हेलचक्र्याई गर्ने, जबरर्जस्ती धर्म प्रचार गर्नेजस्ता काम कानुन विरुद्ध भएको उहाँले बताउनुभयो ।

चितवनका स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले बालगृहको नाममा विदेशी निकायबाट जिल्लामा वार्षिक रु १५ करोड भित्रिए पनि बालबालिकाको हितमा काम हुन नसकेको बताउनुभयो ।

बालअधिकार सुनिश्चितताका लागि राज्यले संरक्षकत्वको भूमिका खेलिरहेको बताउँदै उहाँले बालगृहहरुले विधान अनुरुप काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्थानीय राजनीतिक दलका नेताहरुले बालगृहमा नियमित अनुगमन हुन नसक्दा विकृति मौलाएको आरोप लगाएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव राजीव न्यौपाने, राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्री तिमल्सिना, नेकपा (एमाले)का जिल्ला सदस्य खोमकान्त रेग्मी, नयाँ शक्ति नेपालका ऋषवदेव भट्टराईलगायतले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)