Aamsanchar

चिया पसलमा गाँजा विक्री, दुई महिला पक्राउ

Author Image
बिहिवार, साउन २७, २०७३

राजविराज ।

अवैध गाँजा गाउँघरमा नै बिक्री वितरण गर्दै आएको सुराकका आधारमा सप्तरी प्रहरीले दुई महिलालाई पाँच किलो गाँजासहित बिहीबार पक्राउ गरेको छ ।

सप्तरीको बोरिया ७ की ४८ वर्षीया उर्मिला दास र राजविराज ७ की ३५ वर्षीया सुमिला देबी चौधरीलाई गाँजासहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

बोरिया ७ स्थित दासको चिया पसलमा शंका लागि चेकजाँच गर्दा तीनवटा प्लाष्टिकको प्याकेटमा प्याकिङ गरी बेच्न राखेको तयारी गाँजा फेला परेपछि उनको घरमा गई छापा मार्दा दुई किलो तयारी गाँजा फेला परेको प्रहरीले जनाएको छ । निजका श्रीमान् परशुुराम  दास भने फरार छन् । उनीहरुले चिया पसलमा गाँजाको पोको पारेर खरिद गर्न आउने मानिसलाई विक्री वितरण गर्दै आएको स्वीकार गरेको प्रहरीले बताएको छ ।

यसैगरी, राजविराज ७ स्थित चौधरीको घरबाट तीन किलो गाँजा फेला परेपछि निजलाई पक्राउ गरिएको र उनका श्रीमान् ज्ञानेन्द्र चौधरीको खोजतलास भइरहेको सप्तरी प्रहरीले जनाएको छ । उनीहरुमाथि अवैध गाँजा विक्री वितरण गरेको अभियोगमा कारबाही अघि बढाइएको निरीक्षक कार्कीले जानकारी दिए ।

चिया पसल र घरबाटै खुलेआम रुपमा लागु औषध गाँजाको विक्री बितरण भएको पाइएपछि सप्तरी जिल्लामा प्रहरी प्रशासनका लागि थप चुनौती बढेको छ । प्रभावकारी अनुगमन हुन नसक्दा राजमार्ग क्षेत्रका होटलमा मात्रै होइन गाउँटोलका चिया र किराना पसलमा समेत गैर कानूनी क्र्रियाकलाप प्राथमिकता पाउन थालेको हो ।

यसअघि पनि राजमार्ग क्षेत्रका कोल्ड स्टोर, होटल, पेडा र किराना पसलहरुबाट लागु औषध गाँजा बिक्रि बितरण हुने गरेको फेला परेको अन्नपूर्णले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर