Aamsanchar

खतरनाक रोग ‘स्क्रब टाइफस’बारे सचेतना सुरु

Author Image
शनिवार, साउन २९, २०७३

srach crib

रत्ननगर (चितवन) ।

चितवनमा यो वर्ष आधिकारिक रुपमा पुष्टि भएको रोग ‘स्क्रब टाइफस’बाट मानवीय जोखिम कम गर्न सचेतनामूलक कार्यक्रम सुरु गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले स्वास्थ्यकर्मी, सर्वसाधारण, सञ्चारमाध्याम तथा चिकित्सकमा सचेतना कार्यक्रम सुरु गरेको हो । रोगको पहिचान भए उपचार पनि सहज हुने तर पहिचान नहुँदा जोखिम हुनसक्ने भन्दै रोगको लक्षण र सावधानीका उपाएका बारेमा सचेतना सुरु गरिएको जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख मधुसुदन कोइरालाले जानकारी दिनुभयो ।

“विभिन्न सञ्चारमाध्यामबाट सार्वजनिक सूचना जारी गरेका छौँ, लक्षण देखिए अस्पताल पठाउन सम्बन्धित स्वास्थ्य संस्थालाई निर्देशन समेत दिएका छौँ,” कोइरालाले भन्नुभयो, “सर्वसाधारणमा समेत सचेत रहन सूचना जारी गरिएको छ ।”

मुख्यगरी एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । यो जुम्रा जस्तै तर सुक्ष्म हुन्छ । मुसाको कानमा बस्ने अथवा यस्तै जीवजन्तुमा बस्छ । त्यसबाट घाँसपातमा झरेको बेलामा मानिस बस्दा यो किर्ना सर्ने र त्यसले टोकेमा रोग लाग्छ ।

यो रोग लागेमा टाउको दुख्ने, १०४ डिग्री जति ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुनिनेलगायतका लक्षण देखिने जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसी बताउनुहुन्छ । यो रोग ब्याक्टेरिया (रिकेटसिया)ले लगाउने गर्छ । झाडी वरिपरि, कृषि काम गर्ने, जताततै बस्ने, चौर झारमा बस्नेमा सर्ने सम्भावना बढी हुन्छ ।

गत वर्ष आधिकारिक रुपमा नेपालमा यो सङ्क्रमण पत्ता लागेको थियो । चितवनमा वैशाखयता सबैभन्दा बढी ५३ जनामा रोग सङ्क्रमण भएको पाइएको छ । चितवन मेडिकल कलेजले मात्रै यहाँ रोगको परीक्षण गर्दै आएको छ । गएको वर्ष भदौ १३ गते नेपालमा रोग भित्रिएको सरकारी तहबाट प्रमाणित भएको थियो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअन्तर्गत इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले रोगका विषयमा देशैभरि सर्कुलर गरेर सावधानी अपनाउन भनिएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर