Aamsanchar

बर्षामा ९ जनाले ज्यान गुमाए

Author Image
शनिवार, साउन २९, २०७३

नरेन्द्र ढकाल
झापा ।

केही समय अघि आएको अविरल वर्षाका कारण बाढीले बगाउँदा तथा डुबेर झापामा तीन महिलासहित नौ जनाको मृत्यु भएको छ भने तीन जना अझै वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

24072016022314Saptahari-badi-8-1000x0साउन महिना शुरु हुनासाथ शुरु भएको वर्षाका कारण उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा गोलधाप–९ का कालीबहादुर लिम्बू, गौरादह–५ का अनुप न्यौपाने, सोही ठाउँका टेकेन्द्र खड्का, गरामनी–२ का लुखिराम सोरेन, तोपगाछी–८ का मनिष भुजेल, राजगढ–४ का मिलन लिम्बू, तोपगाछी–६ की जयकुमारी राई, गौरादह–३ की लोकमाया पौडेल र बैगुनधुरा–७ की मनिषा कबिरथ रहेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।
त्यस्तै शिवसतासी–९का विजय बस्नेत, खजुरगाछी–१ का रेखुकुमार गन्गाइ र कुमरखोद–४ का डी (बाबुलाल) मर्डी खोलाले बगाएर वेपत्ता भएका छन् । उनीहरुलाई झापाका विभिन्न नदीहरुले बगाएको रेडक्रस झापाले जनाएको छ । सो अवधिमा झापाका ६ नगरपालिकासहित १७ गाविस बाढी र डुबानका कारण प्रभावित भएका थिए । वर्षाका कारण झापाका मेची, निन्दा, विरीङ, टाङ्टिङ, कनकाई, रतुवा लगायतका नदीहरुमा आएको बाढीका कारण एक हजार ४ सय ६४ परिवार प्रभावित भएका थिए । उक्त अवधिमा ५१ घर परिवार पूर्ण रुपमा विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिएका छन् । सो अवधिमा एक हजार ४ सय १३ परिवार आंशिक विस्थापित हुन पुगेका थिए । ढकालका अनुसार वर्षा पछि आएको बाढीले झापाका दक्षिणी गाविस सबैभन्दा धेरै प्रभावित भएका थिए । घेराबारी, चकचकी, राजगढ, खजुरगाछी, कोरोबारी, गौरीगञ्ज, कुमरखोद, गौरादह, महाभारा, पाठामारी, कनकाई नगरपालिका, भद्रपुर नगरपालिका, जलथल, पाँचगाछी, शरणामती, दुहागढी, बिर्तामोड नगरपालिका, गरामनी, शिवसतासी, केचना, मेचीनगरपालिका, डाँगीबारी, ज्यामिरगढी लगायतका गाविस तथा नगरपालिकाहरु प्रभावित भएका हुन् ।
यसैबीच जिल्ला प्रशासन कार्यालयद्वारा नेपाल रेडक्रस सोसाइटीमार्फत घर पूर्णरुपमा क्षति भएका ३८ परिवारलाई पाँच हजार रुपैंयाँका दरले एक लाख ९० हजार रुपैंयाँ प्रदान गरिएको बताइएको छ । अन्य १३ परिवारलाई जिल्ला प्रशासन कार्यालयले सहयोग गरेको रेडक्रसको तथ्याङ्कमा उल्लेख गरिएको छ । मानवीय सहयोग र सहायतामा अग्र स्थानमा रहेको रेडक्रसले झापाका विस्थापित तथा आंशिक रुपमा विस्थापित भएकाहरुलाई उद्धारमा पनि सक्रियता देखाएको थियो । रेडक्रसले विस्थापितहरुलाई प्रतिपरिवार १६ दशमलव ५ मिटर कपडा, एक सेट भान्साका सामानहरु समेत प्रदान गरेको ढकालले बताए ।
साथै जिल्ला दैवीप्रकोप उद्धार समितिको पहलमा जिल्ला विकास समिति झापा, नेपाल रेडक्रस सोसाइटी झापा शाखा, साहारा नेपाल र लुथरन विश्व फेडरेशनको सहयोगमा झापाका भद्रपुर, केचना, पाठामारीका ४ सय ७० परिवारलाई ९ हजार तीन सय किलो चामल, दाल एक हजार ३ सय ९५ किलो, चिनी ९ सय १२ किलो, नुन ४ सय ५६ किलो, खाने तेल ९ सय १२ लिटर, त्रिपाल ३ सय थान लगायतका सामग्री प्रदान गरिएको थियो ।
साउनको पहिलो र दोस्रो साता आएको वर्षाले धेरै परिवार प्रभावित भएपनि रेडक्रसको सहयोग तथा जिल्ला प्रशासन कार्यालयको संयोजनमा राहत वितरण गरिएको थियो । तत्कालीन अवस्थामा राहतले सानो सहयोग गरे पनि अझै पर्याप्त राहत पुग्न नसकेको बताइएको छ । बाढीका कारण विभिन्न सरुवा रोगको संक्रमण समेत बढ्न सक्नेतर्फ जिल्ला जनस्वास्थ्य कार्यालय झापाले सजग गराएको छ । पूर्वी पहाडी जिल्लाहरुमा भारी वर्षा हुदाँ समेत तराईका बासिन्दाले समस्या झेल्नुपरेको छ ।
यसैबीच सरकारले बाढीका कारण मृत्यु भएकाहरुलाई राहत प्रदान गर्ने निर्णय गरेको छ । झापामा वर्षेनि रुपमा बाढीको समस्या हुने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर