Aamsanchar

छात्रावासमा ‘भूत’ को आतंक

Author Image
आइतवार, साउन ३०, २०७३

सिमकोट:

IndiaTvcc2de0_ghost

सबैले मिलनसार दिदीका रूपमा चिन्ने हुम्ला जिल्लाको एक मात्रै महिला फिडर छात्रावासकी सिद्धा ऐडीको व्यवहार एक सातादेखि निकै फरक छ । अरूको काममा सहयोग गर्ने, छात्रावासका साना बहिनी र आफ्नै सहपाठीलाई पढाइ तथा अन्य काममा समेत सुझाव दिने ऐडीको बोली पनि निकै परिवर्तन भएको छ ।

मिजासिला शब्द र सम्मानजनक भाषा प्रयोग गर्ने कक्षा दसमा अध्ययनरत सिद्धाले एक सातायता अश्लील शब्द प्रयोग गर्न थालेकी छन् । आफ्नो शरीरका बारेमा थाहा नपाएको बताउने सिद्धाले जहिले पनि आफूलाई कुटेर मारेको भन्दै नजिक आउने सबैलाई हकार्ने र निकै अश्लील शब्द प्रहार गर्ने गर्छिन् । घरि आफैं जमिनमा लम्पसार पर्ने त घरि अर्की महिला (भूत) आएर आफूलाई हिर्काउन थालेको भन्दै सिमकोट बजारै थर्कोउने गरी रुन्छिन् ।

सिद्धा बसेकै छात्रावासकी पुष्पा रावतको अवस्था पनि फरक छैन । एकैछिन सामान्य अवस्थाकी पुष्पा आफूलाई लिन ऊः पर आई भन्दै होस गुमाउँछिन् । अनुहार छेकेका दुईजना अधबैंसे महिलाले (भूत) आफ्नो घर जाऊँ भनी हैरान पार्दै आफू नजिक आएको बताउने उनी अधिकांश समय रोएर बस्छिन् ।

छिनभरमै सामान्य अवस्थामा आएको बेला आफूलाई थाहा नभएको बताउने पुष्पा अनुहार छोपेकी महिलाले आफूलाई छोएपछि होसै नहुने बताउँछिन् । आफूलाई होस नभएको बेला के गरियो भन्ने उनी आफैंलाई थाहा हुँदैन ।

मानसरोवर उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत बास्मती फडेराको दैनिकी पुष्पा र सिद्धाको भन्दा अझ हृदयविदारक छ । निकै कम बोल्ने स्वभावकी बास्मतीको अधिकांश समय गएको एक सातादेखि रुँदै बितेको छ ।

छात्रावासको दक्षिणतर्फबाट दुई महिला (भूत) आएर आफ्नो शरीरमा छोएपछि एकनास रुन मात्रै मन लागेको बताउने उनी सामान्य अवस्थामा आउँदा आफूलाई डरले कहिले त्यो छात्रावास छोडेर घर जाऊँजस्तो लागेको सुनाउँछिन् ।

छात्रावासमा भएका २० जना छात्रालाई खाना पकाउने भान्से विमला रावतको अवस्था पनि उस्तै छ । बाहिर घर भएकी भुतिनी आफ्नो सिमकोटमा आएर आफैंलाई हिर्काउन थालेको भन्दै कराउने विमलाले शनिबारदेखि खाना पकाउनु त परको कुरा, २ वर्षको छोरालाई दूध चुसाउन सकेकी छैनन् । होस गुमाएको बेला मलाई मेरो श्रीमान्ले कुटेर मारेको भन्ने गरेकी उनी आफ्नो नाम गौगोरा रावत भएको बताउँछिन् ।

झट्ट सुन्दा निकै नाटकीय जस्तो लाग्ने उक्त दैनिकी गएको एक सातादेखि सदरमुकाम सिमकोटकै मुटुमा रहेको जिल्लाको एक मात्रै महिला छात्रावासको हो । जिल्ला शिक्षा कार्यालयमार्फत नेपाल सरकारले सञ्चालन गरेको उक्त छात्रावासमा आ श्रय लिएर बसेका २० जना छात्रामध्ये भान्सेसहित ५ जनालाई फरकफरक ‘भूत’ लागेपछि छात्रावासको दैनिकी नै फेरिएको छ ।

छात्रावास सुरु भएदेखि अहिलेसम्म त्यस्तो नभएको बताएको छात्रावास प्रशासन छात्राहरूको असामान्य व्यवहारदेखि निकै आजित भएको छ । गएको शनिबार सुरुमा बिरामी पर्नेबित्तिकै एक सय मिटरको दूरीमा रहेको जिल्ला अस्पतालमा लगेर उपचार गराउँदा केही सुधार नभएपछि छात्रावासकी वार्डेन कमला लामालाई निकै अचम्म लागेको छ ।

एकैपटक पाँचजना छात्रालाई भूत लागेको पहिलोपटक भएको बताउँदै लामाले भनिन्, ‘उपचारका लागि जिल्ला अस्पताल लगेको त बिरामी देखेपछि अस्पतालका सिनियर अहेव हरिभक्त शाही उल्टै कामे । उनले काम्दै बिरामी छात्रालाई ५ वटा भूत लागेको पनि बताए ।’

केही उपचार नगरी जिल्ला अस्पतालमा एकछिन निको भएका पाँचैजनालाई छात्रावास ल्याएको आधा घन्टापछि फेरि उस्तै भएपछि अस्पतालका अहेव काम्दै छात्रावास आएको वार्डेन लामाले बताइन् । बेलुका ७ बजे अहेव शाहीलाई धमेलो बसाएपछि (देवता हेराएपछि) सन्चो भएको थियो ।

भूत धपाएपछि निको भएकी भनिएकी छात्रा आइतबार दस बजे पढ्न मानसरोवर उच्च माध्यमिक विद्यालय गएको बेला लाममै फेरि भूत लाग्यो भन्दै ढलेका थिए । विद्यालयमा समेत निकै रुवाबासी भएको र विद्यार्थी डराएको विद्यालयका शिक्षक राजबहादुर बुढाले बताए ।

उनका अनुसार विद्यालयमा चारजना छात्रालाई एकैपटक भूत लागेपछि दिउँसो सिमकोट माथिल्लो गाउँ कालसिल्ताका धामी भएको ठाउँमा लगिएको थियो । त्यसपछि केही समय भूत भागेको भन्दै चारैजना छात्रा सामान्य अवस्थामा आएका थिए ।

छात्रावास फर्कनासाथ ‘फेरि आयो’ भन्दै कराएर उनीहरू बेहोस भएका थिए । त्यस बेलादेखि अहिलेसम्म कसैलाई पनि सन्चो नभएको वार्डेन लामाले बताइन् । लगातार ४ दिनसम्म त्यस्तै भएपछि जिल्ला प्रशासन कार्यालयबाट सहायक प्रमुख जिल्ला अधिकारीको टोलीले समेत उनीहरूको अवस्था हेरेको थियो ।

सुरुमा आफूले मास हिस्टेरिया भएको शंका गरेको तर पाँचैजना छात्राको अवस्था देख्दा निकै अचम्म लागेको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज न्यौपानेले बताए ।

पाँचजना छात्रा मर्नु न बाँच्नुको अवस्थामा पुगेपछि छात्रावास प्रशासनले अहिलेसम्म पाँचजना धामीलाई देखाइसकेको छ । निकै हैरान भएकी वार्डेन लामाले छात्राका अभिभावकलाई बोलाएर घर पठाउन लागेकी छन् ।

२० जना छात्रा सहित २५ जना बसोबास गरेको छात्रावासका ५ जना बिरामी परेपछि खाना न पानी भएको छ ।अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर