काठमाडौँ ।
भातको विकल्पमा प्रयोग गर्न सकिने आलु र आलुजन्य परिकारमा समेत आत्मानिर्भर हुननसक्दा मुलुकको ठूलो धनराशी त्यसतर्फ खर्चभएको छ ।
डा अरुणा उप्रेतीका अनुसार चामलमा प्राप्त गर्न सकिने कार्बोहाइड्र«ेड आलुमा प्राप्त हुने भएकाले चामलजन्य परिकारको सट्टामा आलु खान सकिने बताउनुहुन्छ । कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्की नेपालमा भात खाने संस्कृति उच्च प्राथमिकतामा पर्छ भन्नुहुन्छ । स्वास्थ्यका लागि चामलको परिकार उत्तम मानिदैँन । चामलको सट्टा आलुलाई भातको विकल्पमा लिन सकिन्छ र आलुको उत्पादनलाई बढावा दिन सजिलो पर्छ । नेपालमा यस वर्ष रु २५ अर्बको चामल आयात भएको छ ।
नेपालमा उत्पादन भएको आलु अपुग भएपछि भारत, बङ्गलादेश, थाइल्यान्डलगायत मुलुकबाट आयात हुँदै आएको छ । आलुबाट तयार गरिने चिप्सलगायत अन्य परिकार पनि १५ भन्दा बढी देशबाट आयात हुँदै आएको छ । तथ्याङ्क अनुसार गत आवमा चार लाख २५ किलो आलु आयात भएको छ ।
कृषि गणना २०६८ अनुसार ६८ प्रतिशत नेपाली कृषि पेसामाथी निर्भर छन् । आफ्नै उत्पादनले खान पुग्दैन भन्नु लाजमर्दो विषय भएको कृषि तथा जलस्रोत समितिका सभापति गगन थापा बताउनुहुन्छ । नेपालमा सबैभन्दा बढी आलु बङ्गलादेशबाट तीन लाख ९५ हजार ३०० किलो आयात भएको छ । त्यसैगरी भारतबाट ४४ हजार ७७६ किलो र थाइल्यान्डबाट १७३ किलो आयात भएको छ ।
तीनवटै देशबाट रु पाँच करोड ३१ लाख २७ हजारको आलु आयात भएको भन्सार विभागले प्रकाशन गरेको वैदेशिक व्यापार पुस्तिकामा उल्लेख छ । आलुबाट तयार गरिने चिप्स विश्वका विभिन्न १० देशबाट रु पाँच करोड १८ लाख ६० हजारको आयात भएको छ । भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गाना चिप्स साउदी अरब, भारत, बङ्गलादेश, थाइल्यान्ड, अमेरिका, कोरिया, स्पेन, मलेसिया, चीन, बेलायतबाट आयात भइरेहेको बताउनुहुन्छ । यहाँ सुख्खा चिप्स आलु एक लाख ९१४ किलो आयात भएको छ ।
त्यसैगरी सग्लाआलु र चिप्स बाहेक अन्य आलुजन्य परिकार पनि आयात हुन्छ । साउदी अरब, डेनमार्क, टर्की, बेल्जियम, र भारतबाट आयात हुने त्यसप्रकार खाद्य वस्तु रु दुई करोड ५५ लाख ९८ हजारको एकलाख ३७ हजार ७३४ किलो आयात भएको छ । नेपालमा २० लाख पाँच हजार ७२५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिन्छ । तर आलुखेतीका लागि आकासे पानीमा निर्भर हुनुपर्छ ।