Aamsanchar

कोशीपारी दुर्घटना,२१ बढीको मृत्यु

Author Image
सोमवार, साउन ३१, २०७३

काठमाडौँ ।

काठमाडौँबाट काभ्रेको कात्तिके देउरालीतर्फ जाँदै गरेको बा२ख १०६ नं को कोसीपारि यातायातको यात्रुबाहक बस काभ्रेको बिर्तादेउरालीको खहरेमा दुर्घटना भएको छ । दुर्घटनास्थल सदरमुकामबाट करिब ५० किमी उत्तरपूर्व पर्दछ ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार दुर्घटनास्थलबाट हालसम्म १५ जनाको शव निकालिएको छ । दुर्घटनास्थल अत्यन्त अप्ठ्यारो भिरमा भएकाले उद्धारमा निकै कठिनाइ भइरहेको छ ।

दिउँसो करिब १ बजे भएको सो दुर्घटनामा ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ । घाइतेहरुको उद्धारको कार्यमा सेना, प्रहरी र स्थानीय जुटेका छन् । घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको छ ।

बसमा यात्रु खचाखच रहेको बुझिएको छ । दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी नै रहेको छ ।

उता बैतडीमा  दिउँसो बस दुर्घटना हँुदा गर्भवती महिलासहित पाँचजनाको मृत्यु भएको छ ।

धनगढीबाट बझाङ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना५ख २८३२ नंको बस आज दिउँसो ३ बजे जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सिद्धेश्वर–३ बिन्द्रावननजिक दुर्घटनामा परेको हो । मृत्यु हुनेको सनाखत गर्ने प्रयास भइरहेको घटनास्थलबाट प्रहरी नायब निरीक्षक रुपसिंह थापाले राससलाई जानकारी दिनुभयो ।

बस सडकबाट करिब ५०० मिटर तल खसेको बताइएको छ । दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने प्रहरीले बताएको छ । घटनास्थलमा खोड्पे प्रहरीचौकीबाट गएको प्रहरीे टोलीले उद्घार गरिरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

बेनीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८१२७ नंको बसले सोमबार दिउँसो विपरीत दिशाबाट आइरहेको एक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ ।

ग११प १८३० नंको स्कुटरलाई पृथ्वीराजमार्ग सडकखण्डमा पर्ने जिल्लाको मनपाङ गाविस वडा नं ३ सेराटारमा ठक्कर दिँदा स्कुटर चालक शुक्लागण्डकी नगरपालिका वडा नं १० बस्ने ४५ वर्षीय प्रकाश गुरुङको मृत्यु भएको हो ।

उक्त घटनापछि स्थानीयवासीले पृथ्वीराजमार्गमा पर्ने दमौली–कोत्रे सडकखण्ड केही समयअघिदेखि अवरुद्ध पारेका छन् ।

दोषीलाई कडा कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै पीडित परिवारले राजमार्ग अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

अवरुद्ध राजमार्ग खुलाउन र उचित क्षतिपूर्तिका लागि पीडित पक्ष, प्रहरी प्रशासन र यातायात व्यवसायीबीच वार्ता भइरहेको उहाँले बताउनुभयो ।

उक्त स्कुटरमा सवार सोही स्थान निवासी वर्ष ३३ का गगनसिंह कुमाल घाइते भएकाले दुलेगौडास्थित सेतीगङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)