Aamsanchar

वीएण्डसीमा रक्तसञ्चार सेवा

Author Image
मङ्गलवार, साउन ३२, २०७३

बिर्तामोड

बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा सोमबार नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवा युनिट स्थापना गरेको छ ।
रक्तसञ्चार सेवा बीएण्डसी युनिटको सो हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले संयुक्तरुपमा उद्घाटन गरे ।

bloodउद्घाटनसँगै रेडक्रस र बीएण्डसी हस्पिटलबीच पाँच बर्षे सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ । सम्झौता अनुसार हस्पिटलले उपलब्ध गराएको तीन कोठे भवनमा रेडक्रसका तीन जना प्राविधिकले २४सै घण्टा रक्तसञ्चार सेवामा सेवा दिने बताइएको छ ।
रक्तसञ्चार सेवा बीएण्डसी युनिटबाट अन्य हस्पिटलले समेत आवश्यकता अनुसार रगत लैजान सक्नेछन् । सम्झौतामा रेडक्रसका तर्फबाट जिल्ला सभापति लोकराज ढकाल र बिर्तामोड उपशाखा सभापति सजेश शिवाकोटी तथा हस्पिटलकातर्फबाट कार्यकारी निर्देशक दुर्गा प्रसाई, मेडिकल डाइरेक्टर डा. अमरनाथ ठाकुर र जनसम्पर्क अधिकारी प्रमिश गिरीले हस्ताक्षर गरेका छन् ।
रेडक्रसका उपशाखा सभापति शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हस्पिटलका कार्यकारी निर्देशक प्रसाई, विशिष्ठ अतिथि रेडक्रसका जिल्ला सभापति ढकाल, मेडिकल डाइरेक्टर डा. ठाकुरले मन्तव्य राखेका थिए । रेडक्रस झापाका सदस्य हेम खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन रेडक्रस उपशाखा बिर्तामोडका सचिव एकराज गिरीले गरेका थिए ।
सो अवसरमा जिल्ला सभापति ढकालले झापामा तेस्रो युनिटको रुपमा बीएण्डसी हस्पिटलमा रक्तसञ्चार सेवा शुरु गरेको जानकारी गराए । यसअघि दमकको आम्दा र लाइफलाइन हस्पिटलमा रक्तसञ्चार सेवा युनिट स्थापना भइसकेको छ ।
बीएण्डसीमा स्थापित युनिटले सोमबारबाट नै सेवा सुचारु गरेको छ । उद्घाटनको अवसरमा रक्तदान समेत आयोजना गरिएको थियो । देशभर ५१ जिल्ला शाखाको मातहतमा अहिले १ सय १ वटा रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा रहेका छन् । झापामा वार्षिक १० हजार युनिट रगत आवश्यक पर्ने बताइएको छ ।
झापामा हरेक वर्ष विभिन्न संघ–संस्थाको आयोजना तथा सोझै रुपमा हुने रक्तदानबाट संकलित हुने रगतको ७५ प्रतिशत हिस्सा बिर्तामोड र आसपासका क्षेत्रका संकलन हुने बताइएको छ ।
संकलित रगतको ८० प्रतिशत बिर्तामोडकै हस्पिटलमा खपत हुने र त्यसमा पनि बढी अप्रेशन हुने भएकाले बीएण्डसी हस्पिटलमा बढी रगत खपत हुँदै आएको जनाइएको छ । बिरामीको सेवालाई सहज र छिटो बनाउन बढी रगत खपत हुने बिएण्डसीमै रक्तसञ्चार युनिट सञ्चालन गरिएको बताइन्छ । तीन वटा हस्पिटलका युनिटसहित झापामा अहिले छ वटा रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा रहेका छन् ।
रक्तसञ्चार सेवा बीएण्डसी युनिट उद्घाटन समारोहमा चारआलीस्थित नेपाली सेनाका गणपति खेमनारायण पौडेल, रेडक्रसका जिल्ला उपसभापति ओमप्रकाश गौतम, मन्त्री कृष्ण मैनाली, कोषाध्यक्ष बद्री कार्की, उपमन्त्री लम्बोदर पौडेल, कुसुम कोइराला, झापाका ट्राफिक प्रहरी प्रमुख ढुण्डीराज गिरी, रेडक्रसका एम्बुलेन्स सञ्चालक समितिका संयोजक राजेन्द्र चम्लागाई, बीएण्डसीका मेडिकल कलेजका प्रिन्सिपल डा. उमेशकुमार शर्मा लगायतको आतिथ्य रहेको रेडक्रस बिर्तामोडका उपसभापति निर्मल भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)