Aamsanchar

बिर्तामोडमा नक्कली लाइसेन्स बनाउने गिरोह सक्रिय

Author Image
मङ्गलवार, साउन ३२, २०७३

nakkali laisens
भद्रपुर ।

झापा लगायत मेची अञ्चलकै सवारी चालक अनुमती पत्र(लाइसेन्स) नक्कली बनाउने गिरोह सक्रिय भएको खुलासा भएको छ ।

गत २०६८ सालदेखि यातायात व्यवस्था कार्यालय मेचीले सवारी चालक अनुमति पत्रमा कडाई गर्नुका साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारीसाधन चेक जााच कडा पारेपछि नक्कली लाइसेन्स बनाउने गिरोह सक्रिय भएको हो ।

झापाको विर्तामोड स्थित यातायात व्यवस्था कार्यालय मेची बाहिर खटिएका गिरोह सक्रिय भएपछि पछिल्लो समयमा मेचीमा नक्कली लाइसेन्स छयाप्छायापी पाइन थालेको छ । यस गिरोहमा कार्यालयका कर्मचारी, डा्रइभिङ् सेन्टर, यातायात सम्बन्धि काम गर्ने बिचौलीया र पेशेवर दलालीको संलग्नतामा नक्कली लाइसेन्स दिने काम भइरहेको स्रोतको दावी छ ।

नक्कली लाइसेन्स बनाउने गिरोहले सवारी चालकबाट मोटो रकम असुल्दै सक्कली जस्तै देखिने नक्कली लाइसेन्स दिने गरेको ट्राफिक चेकजाचको क्रममा फेला परेको छ ।

laicens

ट्राफिक प्रहरीले सवारीसाधन चेक जााचको क्रममा झापाका विभिन्न स्थानबाट सवारी चालकको लाइसेन्स नक्कली फेला पारिसकेको छ । नियन्त्रणमा लिएका लाइसेन्स सम्बन्धी चालक लिन नआउदा यातायात कार्यालयमा सो नम्बरको लाइसेन्स बुझन पठाएपछि लाइसेन्स नै नक्कली भएको पुष्टि हुन आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडका इन्स्पेक्टर ढुण्डीराज गिरीले बताए ।

ट्राफिक प्रहरीले फेला पारेको लाइसेन्स नम्बर ०१–०४२१३६ मा झापा पृथ्वीनगर बस्ने यामकुमार महत नाम रहेपनि उक्त नम्बरको लाइसेन्समा सिराह रामनगर मिर्चियाका नथुनीप्रसाद शाहको नाममा जारी भएको यातायात कार्यालयको रेकर्डमा देखिन्छ । शाहको नाममा रहेको लाइसेन्स ए र बि भएपनि महतले ए, वि, एफ र जि राखेर दुरुपयोग गरिरहेका थिए । त्यस्तै मोरङ मिर्गौलिया ६ बस्ने यामबहादुर बराइली कामीको लाइसेन्स नम्बरमा ०१–०६७२३४ मा मेचीनगर नगरपालिका १० का शेखर शर्मा गुराागाई नाम रहेको छ । शेखरले ०५८ पुस ९ मा लिएको सोही नम्बर लाइसेन्सलाई कामीले ०६८ श्रावण २० जारी मिति लेखेर प्रयोग गरिरहेका थिए ।

चन्द्रगढी बस्ने कामीचन राजवंशीको लाइसेन्स नम्बर ०१–०८२७२४ मा राजगढ बस्ने गजेन्द्र राजवंशीको नाम रहेको छ । गजेन्द्रले ए अनुमति लिएपनि कामीचनले ए र बी राखेर प्रयोग गर्दै आइरहेका थिए । सुनसरी डुमराहा बस्ने बाबुराम चौधरीको लाइसेन्स नम्बर ०२–७०३२५ मा झापा हल्दिवारी १ का सुनिल महतोले ए र बी राखेर प्रयोग गर्दै आइरहेका थिए । त्यसैगरी झापा हल्दीवारी १ का नविन आचार्यको लाइसेन्स नम्बर ०१–०९९७८८ मा सुनसरीका भरौला बस्ने जितेन्द्रराज धामीको नाम उल्लेख भएकोमा नविनले ०७० माघ ५ मा जारी गरेको लाइसेन्समा धामीले ०७२ माघ १९ जारी मिति राखेर प्रयोग गर्दै आइरहेको यातायात व्यवस्था कार्यालयको रेकर्डमा रहेको अधिकृत मनोजकुमार ठाकुरले बताए ।

गिरोहले नक्कली लाइसेन्स बनाउदा लाइसेन्सको कार्ड देखि लिएर सहि छाप त बाहिरै गरिरहेका छन् तर सरकारको छाप चिन्ह अर्थात होलोग्राम चाहि कहाबाट फेला पार्छ यस बिषयमा गम्भिर प्रश्न उठेको छ । चालकले लाइसेन्स हरायो भनि प्रतिलिपी बनाउन आउनेवाट यस्तो पेशामा संलग्न गिरोहले लाइसेन्समा लगाएको होलोग्राम पुन: प्रयोग गरी नक्कली लाइसेन्स बनाउने काम गर्दै आइरहेको हुन सक्ने यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख जनार्दन भट्टराईले बताए । नक्कली लाइसेन्सको विषयमा कार्यालयका सुचना अधिकारी तथा अधिकृत टंकबहादुर कार्कीले हाम्रो तर्फवाट कुनै कमजोरी र मिलोमतो नरहेको ठोकुवा गरे । यस्ता प्रकारका लाइसेन्स बनाउनेमा ठुलो गिरोह रहेकाले यसको तत्काल छानविन र अनुसन्धान गरिनु पर्ने कार्कीको भनाई छ ।

यता नक्कली लाइसेन्स बनाउने गिरोहमा आवद्ध व्यक्तिले ट्रायल फेला भएका चालकलाई लाइसेन्स बनाइदिन छु भन्दै प्रति लाइसेन्स १८ देखि ३० हजार सम्म लिने गरेको बुझिएको छ । गिरोहबाट लाइसेन्स लिएका चालक चेकजााच वा अन्य कुनै समस्यामा नपरेसम्म पााच बर्ष उसले थाहा नै पाउदैन । यातायात कार्यालयमा जब उसले लाइसेन्स नविकरण गर्न आउछ त्यस बेला चालकले आफनो लाइसेन्स नक्कली भएको थाहा पाउने घटनाहरु यातायातमा आउने गरेको कार्यालयका कर्मचारीहरु बताउछन ।

सडक चेकजाचमा लाइसेन्स चिन्न नसकिने भएकोले यसको दुरुपयोग बढन थालेको इन्स्पेक्टर गिरीले बताए ।

जिल्लाका ट्राफिक प्रहरीलाई यातायात कार्यालय जस्तै लाइसेन्स जााच गर्ने सफ्टवोयर नदिएसम्म नक्कली लाइसेन्स नियन्त्रण हुन नसक्ने उनले बताए । कम्युटरमा नम्बर पोष्ट गर्ने प्रविधि जब देखि सुरु हुन्छ, समस्या आफै टरेर जान्छ । पुष्टि भएका नक्कली लाइसेन्समा उल्लेखित व्यक्तिलाई खोज तलासको माध्यमवाट चाडो भन्दा चाडो पक्राउ गरी कार्वाहीको दायरामा ल्याएमात्र गिरोह पक्राउ गर्न सकिने उनले बताए ।

झापामा फेला परेका नक्कली लाइसेन्स उदाहरण मात्र हुन् । झापा लगायत अहिले देशभरमै यस्तै नक्कली लाइसेन्स वितरण हुन भन्न नसकिएला । त्यसैले नक्कली लाइसेन्स बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याउनै पर्छ । अनि मात्र देशमा सवारी दुर्घटना न्युनीकरण हुनुका साथै सर्वसाधरण जनता यस्तो गिरोहको फन्दा परि ठगिनुबाट जोगिन्छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1137

प्रतिक्रिया (०)

सम्बन्धित खबर