काठमाडौँ ।
नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको निर्वाचन कार्यक्रम सुरु भएको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा सङ्घको ११औँ महाधिवेशनअन्तर्गत मतदान आज बिहान ७ देखि साँझ ७ बजेसम्म भनिएता पनि प्राविधिक कारणले बिहान ८ बजेदेखि सुरु गरिएको निर्वाचन अधिकृत कृष्णप्रसाद पनेरुले जानकारी दिनुभयो ।
अध्यक्षमा आठजनाले उम्मेदवारी दिएपनि पदमराज पन्तले अध्यक्ष पदबाट फिर्ता लिएपछि महाधिवेशनमा सातजना चुनाव लड्ने हुनुभएको छ, जसमा मनोजमणि आचार्य, नैनसिंह महर, शुभराम बस्नेत, आनन्दराज त्रिपाठी, लक्ष्मण आचार्य, नगेन्द्रसिंह ठकुरी र वचन कार्की रहनुभएको छ ।
त्यसैगरी, महामन्त्रीमा ६ जनाले उम्मेदवारी दिएपनि राजेश ज्ञवालीले उम्मेदवारी फिर्ता लिएपछि पाँचजना चुनाव लड्ने हुनुभएको छ जसमा हिमालदत्त श्रेष्ठ, कुन्दनराज काफ्ले, सरोज थापा, दीपक भट्टराई र शङ्कर पौडेल रहनुभएकोे छ ।
कोषाध्यक्षमा शिव रिमाल, अञ्जना अर्याल, केदार खनाल, टीका श्रेष्ठ र उमेश भट्टराईले उम्मेदवारी दिनुभएको छ ।
मधेसी सहमहामन्त्रीमा परमेश्वर शाह निर्विरोध निर्वाचित हुनुभएको छ । यसबाहेक उपाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्यमा गरी पाँचसयभन्दा बढीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
धेरै मतदाताले भोट हाल्न पाउने उम्मेदवारका लागि इलेक्ट्रोनिक मतदान प्रक्रियाद्वारा गरिने र थोरै मतदाताले भोट हाल्ने उम्मेदवारका लागि मतपत्रको प्रयोग गरिने पनेरुले जानकारी दिनुभयो ।