कञ्चनपुर।
चित्तल मारेका आरोपमा भीमदत्तनगरपालिका खल्लाका तीन जनालाई वन सुरक्षाकर्मीको टोलीले शुक्रबार पक्राउ गरेको छ ।
इलाका वन कार्यालय ब्रह्मदेवको वन सुरक्षाकर्मीको टोलीले खल्लास्थित सिद्धनाथ मन्दिर आसपासका क्षेत्रबाट मरेको चित्तलसहित तिनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाश कठायत, रतनसिंह बुढा र जगदीश कठायत छन् । इलाका वन कार्यालयका सहायक वन अधिकृत जीवछ यादवले चित्तल मरेको स्थानमा भेटिएका प्रमाणका आधारमा अनुसन्धानका लागि अभियुक्तलाई पक्राउ गरिएको बताउनुभयो ।
अभियुक्त वन कार्यालयको हिरासतमा राखिएका छन् । सहायक वन अधिकृत यादवका अनुसार खल्लाबाट ब्रह्मदेव आउँदै गएका एक जनाले महाकाली किनारमा फालेको झोलामा चित्तलको मासु भेटिएपछि कर्मचारी परिचालन गरिएको थियो ।
स्थानीयवासीका अनुसार चारदेखि पाँचसम्म बथान बनाएर चित्तल गाउँमा आएपछि कुकुरले लखेट्ने क्रममा मरेको हुन सक्छ ।