Aamsanchar

यसकारण पत्रकारको योग्यता परीक्षण गर्नुपर्छ

Author Image
सोमवार, भदौ ६, २०७३

borna b karki

बनेपा ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले पत्रकारिताको सिद्धान्त, मूल्य तथा मान्यता कायम गर्न पत्रकारको योग्यता परीक्षण गर्न लागिएको बताउनुभएको छ ।

‘सुसन्देश’ साप्ताहिकको १४ औँ वार्षिकोत्सवको अवसरमा यहाँ आयोजित कार्यक्रममा उहाँले विचार अभिव्यक्ति स्वतन्त्रता र समाचार सामग्रीको सम्प्रेषण गर्ने विधिमा ठूलो फरक छ भन्नुभयो । अध्यक्ष कार्कीले पत्रकारको परीक्षणको विषय समर्थन वा विरोधको ‘हटकेक’ नभएको उल्लेख गर्दै राम्रो कामका लागि विरोध वा समर्थन स्वभाविक भएको बताउनुभयो ।

“असल पत्रकारलाई संरक्षण गर्न जरुरी छ, पत्रकारिताको नाममा गलत काम गर्नेलाई निरुत्साहित गर्न खोजेका हौँ”¬– उहाँले भन्नुभयो । देशभर रहेका पत्रकारमध्ये करिब २० प्रतिशत गैरपत्रकार भएको जिकिर गर्दै उहाँले असल पत्रकारिताका लागि पत्रकारको अभिलेखीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष कार्कीले मोफसलबाट प्रकाशित पत्रिकामा गुणस्तरीय समाचार आवश्यक भएकामा जोड दिँदै स्थानीय विज्ञापनका आधारमा स्थानीय पत्रिकाको दिगोपना हुन नसक्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष खिलबहादुर भण्डारीले व्यावसायिक पत्रकारितामा देखिएको जटिलता समाधान गर्न आवश्यक भएको बताउनुभयो ।

पत्रिकाका सम्पादक यदुनाथ देउपुरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष नारायण सापकोटालगायतले पत्रकारिताका विषयमा बोल्नुभएको थियो । सो अवसरमा महासङ्घका उपाध्यक्ष भण्डारीलगायतलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)