Aamsanchar

कांग्रेसबाट को–को बन्दैछन् मन्त्री ?

Author Image
मङ्गलवार, भदौ ७, २०७३

काठमाडौं,

timthumb

नेपाली कांग्रेसले सरकारमा सहभागी हुने बाँकी मन्त्रीहरुको नाम मंगलबार सिफारिस गर्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आफू बुधवार स्वास्थ्य जाँचका लागि सिंगापुर जान लागेकाले मंगलबार मन्त्रीको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने अन्तिम तयारी गरेका हुन्।

सभापति देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेलसँग अन्तरिक छलफलपछि मंगलबार अपरान्हसम्म सपथ ग्रहण गराउने गरी मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाउने तयारी भएको देउवा निकट एक नेताले बताए। उनका अनुसार सरकारमा सहभागी हुने सबै मन्त्रीको सूची भोलि पठाइने छ।

यसअघि पहिलो पटक मन्त्रिपरिषद विस्तार गर्दा सभापति देउवाले पार्टीका तर्फबाट उपप्रधान तथा गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक योजना तथा यातायात मन्त्रीमा रमेश लेखकलाई सरकारमा पठाएका थिए।

तर, पौडेल पक्षले कांग्रेसले १३ पाउने मध्ये ६ जना मन्त्री आफूहरुले नपाए सरकारमा आफ्नातर्फबाट मन्त्री नपठाउने चेतावनी दिएपछि नेविसंघको महाधिवेशनलाई देखाउँदै सभापति देउवाले मन्त्री छान्न ढिलाइ गरेका थिए।  सभापति देउवाले पौडेलसँग चारजना मन्त्रीको नाम मागेका छन्।

सभापति देउवाले आफ्नो प्यानलबाट महामन्त्रीमा चुनाव लडेका अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरु डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, जीवनबहादुर शाही, अम्बिका बस्नेत र फर्मुल्लाह मन्सुरकाे नाम लगभग टुंगो लगाएका छन्।

देउवा निकट स्रोतका अनुसार फरमुल्लाह मन्सुरलाई सिँचाइ, जीवनबहादुर शाहीलाई वन र भीष्मराज आङ्दम्बेलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइनेछ। उनका अनुसार गृह मन्त्रालय नपाए सरकारमा नजाने भनेर पहिलो पटक मन्त्रिपरिषद विस्तार गर्दा नगएका अर्जुनरसिंह केसीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइनेछ भने खाँणलाई रक्षा मन्त्रालयको जिम्मा दिइने छ।

यसैगरी पौडेल पक्षले कोषाध्यक्ष सीतादेवी यादव वा किरण यादवमध्ये एकलाई सरकारमा पठाउने तयारी गरेको छ। यस्तै पौडेल पक्षबाट नवीन्द्रराज जोशी, दिपक गिरी र कमला पन्त मन्त्री बन्ने लगभग पक्का छ।

सभापतिको दोस्रो निर्वाचनमा देउवालाई सहयोग गरेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट सुधिर सिवाकोटी मन्त्री बन्ने लगभग पक्का भएको छ।परराष्ट्र मन्त्रालयको जिम्मेवारी नपाए सरकारमा नजाने बताएका नेता शेखर कोइरालासँगै देउवाका विश्वासपात्र मानिएका डा. प्रकाशशरण महतले पनि परराष्ट्रमा दाबी गरेका छन्। महतले दाबी नछोडे देउवाले कोइरालाई मन्त्री बनाउने सम्भावना कम रहेको एक नेताले बताए।

कोइरालाले आफूलाई कुनै गुटबाट मन्त्री नबन्ने भन्दै परराष्ट्र मन्त्रालय नपाए सरकारमा नजाने बताउँदै आएका छन्। पछिल्लो समय पौडल पक्ष पनि कोइरालासँग रुष्ट भएकाले पनि पौडेलले उनको नाम मन्त्रीका लागि सिफारिस गर्ने सम्भावना कम छ।

सरकारमा पठाउने मन्त्रीहरुको सूची प्रधानमन्त्रीलाई बुझाउनु अघि सभापति देउवाले बरिष्ठ नेता पौडेलसँग छलफल गर्नेछन्। पौडेलसँग सभापति देउवाले मन्त्रीको नाम दिन यसअघि नै भनिसकेकाले मंगलबार बिहान छलफल सकिए लगत्तै मन्त्रीको नाम प्रधानमन्त्री प्रचण्डलाई बुझाउने तयारी देउवाको छ।

देउवाले मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाए मंगलबार नै मन्त्रिपरिषद विस्तार हुनेछ। प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासँग मन्त्रीको सूची मंगलबारसम्म दिन सोमबार आग्रह गरेका छन्। देउवाले प्रधानमन्त्री प्रचण्डलाई आफू बुधवार सिंगापुर जान लागेकाले भोलि मंगलबार मन्त्रीको सूची दिने बताएको स्रोतले जनाएको छ।अन्न्पूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर