Aamsanchar

नेपाल–भारत सीमामा सञ्चालित ६३ रक्सी पसल बन्द

Author Image
शनिवार, भदौ ११, २०७३

पर्सा ।

पर्सा प्रहरीले पर्सा जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सञ्चालित ६३ वटा रक्सी पसल बन्द गराएको छ । तीन दिनको अवधिमा सीमा क्षेत्रमा सञ्चालित ६३ वटा मदिरा पसल बन्द गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए ।

जिल्लाको सिमावर्ती ईलाकामा नेपाल भारत सीमादेखि ५ सय मीटर सम्मको क्षेत्रमा रहेका सबै रक्सी पसल हटाउने सूचना पहिल्यै दिईसकेको अवस्थामा अटेर गरी सञ्चालनमा रहेकालाई बन्द गराईएको उनले बताए ।

पर्साको जानकीटोला, प्रसौनीभाठा, खेस्राहा, टिहुकी, मिर्जापुर, धोरे, बुढगाई, आसवारी, भिष्वा, ईनर्वा, अमरपट्टी, छप्कैया, रपिडारीगुठी लगायत क्षेत्रमा सञ्चालित रक्सी पसल बन्द गरिएका हुन् ।

सीमावर्ती भारतको विहार राज्यमा रक्सी उत्पादन, बिक्री र सेवनमा प्रतिबन्ध लगाइएपछि नेपाली सीमा क्षेत्रका भट्टीहरुमा भारतीयको घुइँचो लाग्ने गरेको छ ।

त्यसैअनुसार सीमा क्षेत्रमा प्रशस्तै रक्सी भट्टी खुलेका छन् । बिहार सरकार र प्रहरीले यता आएर मदिरा सेवन गर्ने भारतीयहरुलाई कडाई गर्न यसअघि नै आग्रह गरिसकेको थियो ।

अत्याधिक मदिरा विक्री र सेवनबाट सिमावर्ती क्षेत्रमा अपराधिक क्रियाकलापमा बृद्धि हुन सक्ने देखिएकोले मदिरा पसल बन्द गर्ने अभियान सञ्चालन गरिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।

“सीमा सुरक्षाको संवेदनशीलता, अपराधिक प्रवृत्ति बढ्ने संभावना, रक्सीले सीमावर्ती गाउँका मानिसहरु विग्रने अवस्थामा पुग्न थालेपछि यसलाई रोक्नका लागि मदिरा पसल बन्द गराएका हौं,” उपरीक्षक श्रेष्ठले भने,हिमालले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)