Aamsanchar

सुनसरी र मोरङ जोड्ने बूढी पुल जोखिममा

Author Image
शनिवार, भदौ ११, २०७३

इनरुवा ।

दुई जिल्लाको सिमानाका रुपमा रहेको बूढी खोलाको पुल उच्च जोखिममा परेको छ ।

पूर्वी नेपालको सुनसरी र मोरङ जिल्लाको सीमामा रहेको सो पुल नजिक कटान बढिरहेको छ । बाढीको बेला भएको कटान, पुल निर्माणको बेला बनाइएको अव्यवस्थित स्पर र अवैध गिट्टी बालुवा निकासीका कारणले पुल उच्च जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।
कटानका कारणले पुलको तल राखिएको पिलर सतहभन्दा माथि आएको र पुलमा ठूलो सवारी साधन आउजाउ गर्दा हल्लिने गरेकाले पुल उच्च जोखिममा परेको स्थानीयवासीले गुनासो गरेका हुन ।

यहाँ मर्मतसम्भार र संरक्षणको प्रयास नभएको बेला तीन महिनासम्म कुनै पनि खोलानाला र नदीबाट ढुङ्गा, गिट्टी र बालुवा निकासीमा रोक लगाइएको भए पनि बूढीखोलामा अवैधरुपमा बालुवा निकासीको काम भइरहेका कारणले पनि पुल उच्च जोेखिममा परेको छ ।

बालुवा निकासी र विगतको कटानले पुलको आयु खतरामा परेको र मर्मतसम्भार नगरिए जति बेला पनि विपद् निम्त्याउन सक्ने स्थानीयवासी रन्जित गौस्वामीले गुनासो गर्नुभयो ।

यहाँ अवैध बालुवा निकासीको कारणले सुनसरी र मोरङ जोड्ने कोसी राजमार्गको सडकको बूढी पुल नै उच्च जोखिममा परेको स्थानीयवासी आशिष यादवले बताउनभुयो ।

नदीखोलाको अनावश्यक दोहन र संरक्षण अभावले पुल जोखिममा परेको अर्का स्थानीयवासी अशोक शाहको गुनासो रहेको छ ।

एकातिर बाढीको समयमा दुहबी बजारमा बाढी पस्ने र अर्कातर्फ पुल बगाउने खतरा रहेका कारण त्यसको नियन्त्रण र संरक्षणको प्रयासमा सडक विभाग तथा सरकारले ध्यान पु¥याउन आवश्यक रहेको छ ।

समयमा काममा ध्यान नदिए प्राकृतिक विपत्ति निम्तन सक्ने व पत्रकार तथा स्थानीयवासी सीताराम अग्रहरीले टिप्पणी गर्नुभयो । बाढीमा स्थानीयवासीको बेवास्ता र मानवीय त्रृटिले समस्या र सङ्कट आउन सक्ने उहाँको भनाइ छ ।

उक्त क्षेत्रमा सडक विभाग र ठेकेदारको मिलोमतोमा दक्षिणतर्फ पक्की सपर र उत्तरतर्फ तार जाली मात्रे लगाइएकाले सुनसरीतर्फ बढी कटान र क्षति भएको दुहबिभलुवा नगरपालिकाका कार्यकारी अधिकृत युवराज ढकालले जानकारी दिनुभयो ।

समयमा पुल संरक्षणका लागि ध्यान नदिइए सो पुलले जति बेला पनि ठूलो जोखिम र दुर्घटना निम्त्याउन सक्ने भएकाले संरक्षणका लागि पहल गर्नु आवश्यक रहेको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शिवप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१