Aamsanchar

रातको समयमा नदीजन्य पदार्थ चोरी निकासी

Author Image
आइतवार, भदौ १२, २०७३

उर्लाबारी । मोरङ जिल्ला विकास समितिले नदीजन्य पदार्थ दोहनमा नियन्त्रण गरेपनि पूर्वी मोरङका नदीबाट भने यसको चोरी निकासी बढेको छ ।
सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म बालुवा, गिट्टी, ढुङ्गाजस्ता पदार्थ निकासीमा रोक लगाए पनि कार्यान्वयनमा कडाइ नहुँदा प्रहरीको मिलोमतोमा रातको समयमा मोरङका खोलाबाट यस्ता बस्तु अवैध रुपमा निकासी भइरहेको पाइएको स्थानीयवासीले बताएका छन् ।

मोरङमा रहेका मावा, बक्राहा, चिसाङ लगायतका खोलाबाट रातको समयमा बालुवा, ढुङ्गा, गिट्टी रातभरि ट्याक्टरले निकासी गरिरहँदा वातावरण असान्त भएको भन्दै मावा नदी नियन्त्रण उपभोक्ता समिति र उर्लाबारी–३ स्थित चन्द्रमा टोल मावा नदी नियन्त्रण उपभोक्ता समितिले चोरी निकासी रोक्न माग गरेको छ ।

उर्लाबारी नगरपालिका कार्यालय, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र ट्याक्टर व्यवसायी सङ्घ उर्लाबारीमा एक निवेदन दिँदै उक्त समितिले चोरी निकासी रोक्न माग गरेको हो ।
समितिका अध्यक्ष अम्बिका बोहोराका अनुसार जथाभावी रुपमा खोलाजन्य पदार्थको निकासी हुँदा खोलाले जमिन कटान गरी खेतीयोग्य जग्गा, स्थानीय सङ्घसंस्था, विद्यालय, सडक, बसपार्क, मठमन्दिर साथै बजार क्षेत्रसमेत जोखिममा पारेको भन्दै सो कार्य बन्द गर्न माग गरिएको हो । रातको समयमा चोरी निकासीका क्रममा गाउँ बस्तीमा हो–हल्ला गरेर वातावरण नै खलबल्याएकाले स्थानीय प्रशासनसँग शान्तिसुरक्षा दिन माग पनि गरिएको छ । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर