झ्याम्म झुम्म बरको पात
को सँग भनांै मैले वेदनाको बात
नजिकिँदै गरेको नेपाली नारीहरुको महान् चाड हरितालिका (तीज) मौलिक संस्कृतिसँग जोडिएको छ । पहिले पहिले पीर, वेदना, व्यथा, हर्ष र दुःखसुख मिसिएर तीजका भाका गुञ्जन्थे । सासु बुहारीका बुहार्तन तथा थिचोमिचो अनि विरह, वेदनाहरु मिसिएका गीतले हरितालिका (तीज) मा रौनक थप्थ्यो ।
चेली माइत जान नपाएका कुरा, सासूससुरा, लोग्ने तथा आफ्नै बुबाआमासँग गुनासो हुन्थ्यो । त्यही गुनासो पोख्ने माध्यम तीजलाई लिइन्थ्यो । आफूले वर्षभरि भोगेका दुःख पोख्ने माध्यम हुन्थ्यो । गीतबाटै उनीहरु विरह पोख्थे । छोराछोरीको विभेदको विरोध तीजकै भाकामा हुन्थ्यो ।
ठूलो घर उज्यालो मईनटोल बालेर
जान्छ क्यारे इज्जत छोरी पालेर
दश भाइ छोरापनि यही घरमा अटाउने
म एउटी छोरीलाई डाँडै कटाउने
सञ्चारिका समूह चितवनकी अध्यक्ष सिर्जना अर्याल दुःखसुख साट्ने माध्यम मात्रै नभएर विभेदको विरोध गर्ने माध्यम पनि तीज हो भन्नुहुन्छ । गीतबाट सामाजिक असमानताको चिरफार गर्ने र विभेद खोतल्ने काम हुन्थ्यो । अर्याल तीज पर्व र संस्कृतिलाई समाज रुपान्तरणको अभियानको रुपमा विश्लेषण गर्नुहुन्छ ।
हुन त तीज वैदिक कालदेखि नै मनाइने गरेको पाइन्छ । किंवदन्तिहरु पmरक फरक छन् । पार्वतीको नाचमा हरि(विष्णु)ले ताली बजाएकाले तीज मान्ने चलन आएको भन्ने पनि छ । पार्वतीले शिव पति पाऊँ भनेर व्रत बसेको र सोही व्रतले पति पाएकाले पार्वतीले नाचगान गरेर सङ्गीहरुलाई भोज खुवाएकाले तीजको परम्परा बसेको प्रसङ्ग पनि पाइन्छ ।
पार्वतीलाई साथीहरुले हरण गरेर शिवले तपस्या गरेको ठाउँमा लगेकाले पनि हरितालिका भनिएको भन्ने जनविश्वास रहेको छ ।
प्रा दिपेन्द्र घिमिरेका अनुुसार आफ्नै बुबाआमाले हेलाँ गरे भने महिलाका लागि मनको बह फुकाउने अवसर तीज हो ।
रुँदै र रुँदै म घर जाँदा
बाबाले फर्की हेरेनन्
घरबाट रुँदै रुँदै माइत पुग्दा बाबाले पनि वास्ता नगरेपछि मन कुँडिन्छ । अनि उनीहरु गीतबाटै बुबा विरुद्धको आक्रोश पोख्छन् ।
बैगुनि भैंसी फुटेको गौवा
बाबुलाई कहिल्यै नटुटोस् ।
विवाहित नारीले घरमा परेको पीडा सुनाउने, बह पोख्ने ठाउँ आफ्ना बुबा, आमा र माइती नै हुन् । तर कहिले काहीँ विडम्बना हुन्छ, माइती पनि सकारात्मक भै दिँदैनन् । त्यसपछि विद्रोह गर्न सक्दैनन् । उनीहरुमा वेदना उत्पन्न हुन्छ । अनि गीतबाटै वेदना पोख्ने गरेको घिमिरे बताउनुहुन्छ ।
सानोमा सानो दारको ठेकी
दुई माना दही जाने
घरको वेदना बुझ्दैनौ बाबा
जा घर भने भै जाने
यस्तै विरह बढी मिसिन्थे तीजमा । खुसी र रमाइला कथा गीतमा नसमेटिने होइनन् । अझै पुराण र धर्म ग्रन्थका विषय समेत समेटिन्थे ।
देवी देवताको वर्णन पनि तीजका भाकामा उनिने गरेको पाइन्छ ।
दक्ष प्रजापतिको घरै रै’छ रुपको
मगमग बास्ना चल्ने उनको धूपको
बाबाको आँगनीमा ठूलो यज्ञ लगा’का
तेत्तिस कोटी देवता सबै भएका
यी सबै तीजका प्रसङ्गहरु मौलिक संस्कृतिसँग जोडिएको प्रा घिमिरे बताउनुहुन्छ । तर अहिले मौलिकता भुल्दै पश्चिमा संस्कृतिमा चुर्लुम्म डुम्न खोजेको देख्दा चिन्ता बढ्दो छ । “रक्सि खाइन्छ, मेहेन्दी लाइन्छ, भन्ने जस्ता गीतले पश्चिमेली शैली लैजान खोजिरहेको छ” – घिमिरेले भन्नुभयो ।
मुख्य गरी तीज भाद्र शुक्ल द्वितीयाका दिन दरिलो खाद्यपदार्थ दर खाएर मनाइन्छ । तृतीयामा ब्रत बसेर मनाउने र पञ्चमीमा पूजाआजा गरेपछि समाप्त हुन्छ । यही बीचमा मौलिकता मिसिएका गीत गाइन्छ ।
तर पछिल्ला दिनहरमा भड्किलो संस्कृति भित्रिएकामा दुई मत छैन । पाँच दिन मनाइने तीज २÷३ महिना अघिदेखि मनाउनु उपयुक्त नहुने महिला अगुवा प्रेमकुमारी तामाङको तर्क छ । एउटै परिवार बसेर तीजको भाका टिभीमा हेर्न सकिने अवस्थाका छैनन् भन्छन् स्वयं महिलाहरु ।
सञ्चार माध्यमले आफैंले कुन विषयवस्तु राख्न मिल्ने र कुन नमिल्ने भनेर ध्यान दिनुपर्ने पत्रकार महासङ्घ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल बताउनुहुन्छ ।
पछिल्लो समयमा महङ्गो साडी र सुनका गहना देखाएर तीज मनाउने गरिएको पाइन्छ । तीज गीत सङ्गीतको पर्व हो । आफैंभित्रको आचरण शुद्ध पार्न सके तीजको साँस्कृतिक महत्व र मौलिकता झल्किने प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य बताउनुहुन्छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह तडकभडक नगरिकनै तीज मनाउन महिला दिदीबहिनीहरुलाई सुझाव दिनुहुन्छ ।
तीजका दर्शकलाई केन्द्रित गरेर चलचित्र ‘ब्रासलेट’
तीजलाई केन्द्रित गरेर यही भदौ १७ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ब्रासलेट’ समाजमा भैरहेको घटना र मौलकितामा आधारित रहेको त्यसका निर्माता तथा निर्देशकले बताएका छन् ।
चितवनमा आज पत्रकार सम्मेलन गरी चलचित्र ब्रासलेटका निर्माता केशव भट्टराईले सामान्यतया भैरहेको घटनालाई जोडेर चलचित्र बनाइएको बताउनुभयो ।
“भैरहेका घटनाहरु हुन् तर इन्डिङमा गएपछि फरकपन छ,” भट्टराईले भन्नुभयो । उहाँ पुराना निर्माता हुनुहुन्छ । उक्त चलचित्र चितवनका दुई चलचित्र हलमा प्रदर्शन हुनेछ । तीजका दर्शकलाई केन्द्रित गरेर भदौ १७ देखि चलचित्र प्रदर्शन गर्न लागिएको हो ।
दर्शकमाझ गैंडाका नामले चिनिएका चलचित्रका निर्देशक निर्मल शर्माले गलत होहल्ला हैन चलचित्रमा मौलिकता दिन खोजिएको छ भन्नुभयो । चलचित्रमा नायक रमेश उप्रेतीसँग नायिका रजनी केसी र नम्रता सापकोटाको मुख्य भूमिका छ ।
सुदिप बरालको छायाँकन, ताराप्रकाश लिम्बू र दिपक शर्माको सङ्गीत र विपीन मल्लको सम्पादन रहेको ब्रासलेटमा गोविन्द राई र बविराज गहतराजको नृत्य निर्देशन र हिमाल केसीको द्धन्द्ध निर्देशन छ । रासस