Aamsanchar

धरहरा निर्माण कागजमै अल्झियो

Author Image
मङ्गलवार, भदौ १४, २०७३

काठमाडौँ।

before_after_dharahara_650

भूकम्पको कारण भत्किएको धरहरा नवर्निर्माण गर्न अवधारणागत नक्सा तयार भए पनि त्यसमा थप काम भने अगाडि बढेको छैन ।

सरोकारवाला निकायका फरक–फरक तर्क र जवाफ सुन्दा प्रक्रिया अगाडि बढिहाल्ने अवस्था समेत देखिँदैन ।  धरहराको अवधारणागत नक्सा तयार गर्ने आर्टिकेक्ट इन्जिनियर मनोहर राजभण्डारीले आफूहरूले तयार पारेको नक्सा पुरातत्व विभागलाई बुझाइसकिए पनि त्यसमा विभागबाट थप कुनै प्रतिक्रिया वा सुझाव नआएको बताउनुभयो ।
पुरातत्व विभागका अधिकारीको भनाइ भने उहाँको भनाइसँग मेल खाँदैन ।  विभागका प्रवक्ता घनश्याम उपाध्याय भन्नुहुन्छ, सोही कम्पनीलाई धरहराको टोपोग्राफिक डिजाइन  फाइनल गर्नका लागि एक महिनाको अवधि दिइएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राई भने धरहरा नवनिर्माणका लागि तयार भएको डिजाइन मन्त्रिपरिषद्मा प्रस्तुत नै हुन नपाएको जानकारी दिनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, अवधारणागत डिजाइन प्राप्त भएको छ तर मन्त्रिपरिषद्मा प्रस्तुत हुन नपाएका कारण प्रक्रिया अगाडि बढेको छैन ।  नयाँ मन्त्री भर्खरै आउनु भएकाले केही समयमै मन्त्रिपरिषद्मा धरहराको अवधारण प्रस्तुत गरिने उहाँले बताउनुभयो ।
यसका साथै अब बन्ने धरहराले ओगट्ने गोश्वारा हुलाक कार्यालयलाई चारखाल अड्डामा सार्न पनि जग्गाको कित्ता नम्बर सच्याउनुपर्ने अवस्था आएको छ ।  मन्त्रालयले त्यसको प्रक्रिया सुरु भएको जानकारी दिएको छ ।  त्यस्तै टक्सार विभाग भने सार्ने प्रक्रिया सुरु भइसकेको सचिव राईले जानकारी दिनुभयो ।
अब बन्ने आधुनिक धरहराको लागि गोश्वारा हुलाक कार्यालय, टक्सार विभाग र ऐतिहासिक सुन्धारालाई समेत समेटेर करिब ४२ रोपनी जग्गा ओगट्ने गरी डिजाइन तयार भएको छ ।  अनुमानित तीन अर्ब रुपियाँको लागतमा धरहराको नवनिर्माण गरिने र त्यसका लागि मै बनाउँछु मेरो धरहरा नारा दिएर नेपाली जनतासँग सहयोग आह्वान समेत भएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकमहिनाको तलब धरहरा निर्माण कोषमा जम्मा गराई सुरु भएको धरहरा निर्माणमा जनसहभागिता अभियान समेत अहिले सुुुसुप्त अवस्थामा छ ।  नेपाली नागरिकबाट उठ्ने रकम धरहरा निर्माणका लागि नपुग भएमा बाँकी रकम सरकार र नेपाल टेलिकमले ब्यहोर्ने सहमति भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर