Aamsanchar

दुर्घटना रोक्न गाडी जाँच केन्द्र सञ्चालन गरिने

Author Image
मङ्गलवार, भदौ १४, २०७३

निरन्तर सडक दुर्घटना बढ्नुको एक प्रमुख कारण खराब अवस्थाको सवारी साधन सञ्चालन हुनु रहेको भनिंदै गर्दा सरकारले आइन्दा गाडीहरुको प्राविधिक स्थिति निरिक्षण गर्ने सवारी जाँच केन्द्र सञ्चालनको प्रकृया अगाडि बढाएको जनाएको छ।

काठमान्डूको टेकुमा स्थापना भएपनि सञ्चालनमा आउन नसकेको जाँच केन्द्र तत्काल चलाउने र सातवटै प्रदेशमा एक, एकवटा जाँच केन्द्र स्थापना गर्ने कार्य अगाडि बढेको यातायात व्यवस्था विभागले जनाएको छ।

झन्डै डेढ करोड रुपियाँको लागतमा चार वर्ष अगाडि काठमान्डूको टेकुमा स्थापना भएरपनि सञ्चालनमा आउन नसकेको सवारी जाँच केन्द्र अर्को महिनादेखि पुन: सञ्चालन गर्न तयारी भएको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए।

साथै अब सातै वटा प्रदेशमा पनि सवारी जाँच केन्द्र स्थापनाको प्रकृया अगाडि बढेको उनले बताउँदै भने, “अहिलेसम्म आधुनिक प्रविधि नभई मानिसले मात्र जाँच भइरहेको छ। नांगो आँखाले हेर्ने, स्टार्ट गर्ने, गियर, ब्रेक, बत्तीहरु चेक गर्ने काम मेकानिकले गरिरहेका छन्। अब सवारी जाँच केन्द्र भइसकेपछि मेशिनले सम्पूर्ण कुरा कम्युटर प्रविधिबाट जाँच गर्नेछ।”

टेकुको केन्द्र सञ्चालन भएपछि प्राथमिकताको आधारमा सार्वजनिक सवारी साधनहरुको जाँच कडाईका साथ गरिने महानिर्देशक श्रेष्ठ बताउँछन्।

उनको भनाई छ, “शुरुमा हामीले दुर्घटनाको मात्रा बढी हुने गरेका रात्री बसको जाँच गर्नेछौं। त्यसपछि क्रमश: दिवा सेवाका बसहरु, ट्याक्सी, माइक्रोबसहरुको जाँच गर्ने योजना छ।”

प्रदेशमा जाँच केन्द्र स्थापनाका लागि सरकारले बजेट उपलब्ध गराइसकेकोले अब छिट्टै नै जग्गा खोज्ने बताइएको छ। तर सबै काम पूरा हुन अर्को वर्ष लाग्ने विभागको भनाई छ।

जथाभावी रुपमा थोत्रा गाडी सञ्चालन गर्नु दुर्घटना बढ्नुको कारण रहेको भन्दै त्यसको आलोचना भइरहेको छ।

गत महिना काभ्रेपलाञ्चोकमा झण्डै तीन दर्जन अनि गत साता त्रिशुलीमा बस खस्दा २२ जनाको ज्यान गएको थियो।

तीन दिन अगाडि अर्घाखाँचीमा एउटा जीपको ब्रेक फेल हुँदा ११ जनाले ज्यान गुमाउनु परेको वीवीसीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)