Aamsanchar

शिक्षकले राजनीति गर्ने दिन गएः शिक्षामन्त्री

Author Image
मङ्गलवार, भदौ १४, २०७३

dhaniram-poudel (1)

नवनियुक्त शिक्षामन्त्री धनीराम पौडेलले बहालवाला शिक्षकले राजनीति गर्न नहुने बताएका छन् ।

प्रेस सेन्टर कास्कीले गरेको पत्रकार सम्मेलनमा बोल्दै शिक्षामन्त्री पौडेलले शिक्षक पनि हुने र राजनीति पनि गर्ने दिन सकिएको बताए । ‘शिक्षक पनि हुने र राजनीतिक परिषदमा पनि बस्दा समस्या भो,’ मन्त्री पौडेलले भने, ‘बैठक बस्दा राजनीतिक परिषदमा रहेका शिक्षक कहिलेकाहीँ जिल्ला शिक्षा अधिकारी भन्दा पनि माथि पर्दा काम गर्न र गराउन अप्ठेरो भो, अब यस्तो गर्न रोक्नुपर्छ ।’

उनले राजनीति गर्ने शिक्षकलाई स्वेच्छिक अवकाश लिन लगाउने गरी ऐनमा नै व्यवस्था गरिएको र अब सोही अनुसार अगाडि बढ्ने बताए ।

उनले प्रणाली नहुँदा काम गर्न अप्ठेरो परेकाले आफूले कार्यालय छाड्दा प्रणाली बसाएर छाड्ने बताएका छन् । उनले भने, ‘एउटा मन्त्री आएर एउटा सोचले काम गर्छ, उसको कार्यकाल सकिएर अर्को आउँदा त्यो काम अलपत्र पर्छ, यसले शिक्षाको विकासमा असर पुग्छ, प्रणाली बसाएर काम गर्‍यो भने एउटाले शुरु गरेको काम अर्को मन्त्रीले पनि त्यही प्रणालीमा बसेर काम गर्छ र त्यो सफल हुन्छ, त्यसैले म त्यही सोंचका साथ प्रणाली बसाल्न प्रयत्न गर्छु ।’

मन्त्री पौडेलले शिक्षा ऐन २०२८ बाटै अहिलेको शिक्षा पनि निर्देशित रहेको बताउँदै शिक्षा नीति परिवर्तन गर्न शिक्षा आयोगले काम गर्ने बताए । उनले बनेको शिक्षा नीति लागु गराएरै छाड्ने दृढता समेत व्यक्त गरे ।

प्राविधिक शिक्षा प्रणालीमामा जोड दिँदै मन्त्री पौडेलले अहिलेको शिक्षालाई रोजगारी र जनतासँग जोडिनु आवश्यक रहेको बताए । उनले छिमेकी देशहरु चीनमा ७० प्रतिशत र भारतमा ४० प्रतिशत भन्दा बढी प्राविधिक शिक्षा भएपनि नेपालमा केवल ६ प्रतिशतमा सीमित रहँदा रोजगारीमा समस्या देखिएको बताए । प्राविधिक शिक्षाले मात्र देश विकास गर्नसक्ने भएकाले अबको शिक्षा प्राविधिक शिक्षाको भएको उनको भनाइ छ ।

मन्त्री पौडेलले आवश्यकता अनुसार विद्यालय गाभ्ने तयारी गरिएको पनि बताए । समय, श्रम र लगानी जोगाउन विद्यालय गाभिने उनले स्पष्ट पारे ।

शिक्षा मन्त्री पौडेलले भूकम्पले भत्काएका देशभरका ९ हजार विद्यालय ३ वर्षभित्र पुर्ननिर्माण गरिसक्ने जानकारी दिए । भूकम्पले भत्किएका विद्यालय अहिलेसम्म नबन्दा अब बन्दैन कि भन्ने आशंका उब्जिएपनि पुर्ननिर्माण समयमा नै सक्ने उनको दाबी छ । साभार: अनलाईन खवरवाट

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)