Aamsanchar

सुनौला हजारदिन कार्यक्रममा तलब नपाएको गुनासो

Author Image
बुधवार, भदौ १५, २०७३

खोटाङ।

malpot-copy

जिल्लामा सञ्चालित सुनौला हजारदिन कार्यक्रमका प्रशिक्षकले तलब नपाएको गुनासो गरेका छन् । प्रत्येक गाउँमा पुगेर कार्यक्रम सञ्चालन गर्दै आएका प्रशिक्षकले गत माघदेखि तलब नपाएको गुनासो गरेका हुन् ।

गाविसमा सेवा गरेबापत मासिक रु दश हजारका दरले पाउनुपर्ने तलब छ महिना बित्दासमेत नपाएको सुन्तलेका प्रशिक्षक सरस्वती बञ्जराले बताउनुभयो । “व्यक्तिगत तथा पारिवारिक काम छाडेर कार्यक्रम सफल पार्न लागिपर्छौं,” उहाँले भन्नुभयो, “दिनरात खटिएर काम गर्दासमेत आफूले पाउने सुविधा नपाउँदा दिक्दार लागेर आउँछ ।”

कार्यक्रम सुरु भएयता यसअघि आठ÷नौ महिनासम्म बिनातलब काम गर्नुपरेको उनीहरुले तीतो अनुभव सुनाएका छन् । गाविसमा बसेर वडा नागरिक मञ्च र सामाजिक परिचालकको सहयोग र समन्वयमा सयदिने लक्ष्य टोली गठन गर्ने, छनोट गरेको लक्ष्य प्राप्तिका लागि प्रस्ताव र बजेट तयार गर्न टोलीलाई सहयोग गर्ने लगायतका काम गर्दै आएका प्रशिक्षक तलब पाउनबाट वञ्चित भएका हुन् ।

जीवनको पहिलो हजारदिनमा अवलम्बन गर्नुपर्ने उपायका विषयमा जानकारी दिन, मातृशिशु पोषणको स्थितिमा सुधार ल्याउन, खाद्य सुरक्षा सुनिश्चित गर्न, सरसफाइसम्बन्धी सेवामा सर्वसाधारणको पहुँच वृद्धि गर्न, दीर्घ कुपोषणको समस्या समाधान गरी पोषणको स्थितिमा सुधार ल्याउनलगायत कामका लागि कार्यक्रम सुरु गरिएको हो । जिल्लाको १९ गाविसमा सुनौला हजारदिन कार्यक्रम सञ्चालन भइरहेको छ ।

सुनौला हजारदिन कार्यक्रमका जिल्ला संयोजक मोहनराज निरौला, फोकलपर्सन दुर्गाबहादुर राई लगायतको उपस्थितिमा गतहप्ता जिविसमा भएको बैठकमा तलब नपाएको विषयमा प्रशिक्षकले आवाज नै उठाएका थिए । प्रशिक्षक र सुपरभाइजरले चौमासिकरुपमा पाउनुपर्ने तलब पहिल्यैदेखि ढिला आउने गरेको फोकलपर्सन राईले जानकारी दिनुभयो ।

प्रशिक्षकलाई तलब दिन ढिलाइ गर्दै आएको कार्यक्रमबाट गत आर्थिक वर्षमा खर्च गर्न नसकेर करोडभन्दा बढी रकम फिर्ता भएको थियो । पोषणसम्बन्धी काम गर्दै आएको कार्यक्रम जिल्लाको बाहुनीडाँडा, दिप्सुङ, ज्यामिरे, खार्ताम्छा, पौवासेरा, फेदी, धितुङ, सप्तेश्वर र सुङ्देलमा पहिलो चरणमा तथा बास्पानी, च्यास्मिटार, डिकुवा, फाक्टाङ, मौवाबोटे, महेश्वरी, राखाबाङ्देल, सुन्तले, बोपुङ र जलेश्वरीमा दोस्रो चरणमा सञ्चालित छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर