Aamsanchar

२५ दिनपछि श्रीमतीले शव बुझिन्

Author Image
बुधवार, भदौ १५, २०७३

काठमाडौँ ।

शिक्षण अस्पताल महाराजगञ्जमा २५ दिनदेखि रहेको नवलपरासी पदमपुरका ५५ वर्षीय तीर्थ तामाङको आज उनकी श्रीमतीले बुझेकी छन् ।

शारदा फाउन्डेसनका अध्यक्ष रतन चन्दको पहलमा करिब एक महिनादेखि अलपत्र परेको तामाङको शवलाई उनकी श्रीमती सुनिता तामाङलाई बुझाई आज नै पशुपतिस्थित शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।

करिब एक महिनाअघि कमलपित्त (जन्डिस) भई अस्पतालमा भर्ना भएका तामाङको मृत्यु भएपछि परिवारले अर्थाभावमा शव लैजान नसकेपछि अलपत्र परेको थियो । “मैले आर्थिक अभावमा शव लैजान सकिनँ, अस्पतालको उपचार खर्च पनि तिर्न सकिनँ,” तीनवर्षे छोरीसहित अस्पतालमा आएकी सुनिताले अर्थाभावमा मोतीबिन्दु भएकी छोरीको पनि उपचार गर्न नसकेको बताउँदै भनिन् ।

अस्पताल प्रशासनले तामाङको उपचारमा लागेको खर्च र शव गृहमा शव राखेबापतको रु ३० हजार छुट गरिदिएपछि शव लैजान सहज भएको चन्दले बताउनुभयो । उहाँले पशुपति क्षेत्र विकास कोषले पनि तामाङको शव निःशुल्क शवदाह गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मैले अस्पतालमा शव अर्थाभावमा लैजान नसकेको थाहा पाएपछि विदेशमा बस्ने साथीसँग सहयोग मागेको थिए । जापानमा बस्ने साथीले रु ३६ हजार सहयोग गर्नुभयो । लामो प्रयासपछि अस्पताललाई तिर्नुपर्ने रकम छुट गराइयो । सङ्कलन भएको रु ७५ हजार श्रीमतीलाई हस्तान्तरण गरिएको छ ।”

चन्दले तामाङकी तीन वर्षीया छोरी सरु तामाङको पनि मोतिबिन्दुको उपचार गरिदिने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)