खोटाङ ।
खोटाङ जिल्लाको उत्तरी गाविस जलेश्वरी–४ बतासेका १५ वर्षीय ज्ञानबहादुर राई दैनिकजसो दूधकोसी किनारमा माछा मारिरहेका हुन्छन् ।
स्थानीय सिम्ले माविमा कक्षा–७ पढ्दापढ्दै विद्यालय छाडेका ज्ञानबहादुर गाउँकै साथीहरुसँग जाल, तियारी, भेले र झरौला बोकेर नदीमा माछा मार्दै हिँड्छन् ।
गाउँ नजिकै रहेको विद्यालयमा अध्ययनअध्यापन भइरहँदा सोही गाउँका १८ वर्षीय सुजन राई र १७ वर्षीय तारा राई पनि ज्ञानबहादुरसँगै दूधकोसीमा माछा मार्न गड्तिरमा घुमिरहेका हुन्छन् ।
दिउँसो विद्यालयमा पढ्नुपर्ने समयमा उनीहरु नदीमा माछाको खेवा खोज्दै तियारी, भेले थापिरहेका हुन्छन् । साँझ परेपछि पासो उठाउँछन्, अल्झिएको माछा सङ्कलन गर्छन् । अनि आलै बिक्री गर्छन् । उनीहरु माछा मार्नकै लागि गाउँभन्दा एक घन्टा तल दूधकोसी किनारमा पर्ने ओडारमा हप्ता दिनसम्म बास नै बस्ने गरेका छन् ।
बतासेका अधिकांश विद्यालय उमेरका बालबालिका कापी, कलम, पोसाक किन्ने खर्च जुटाउने बहाना बनाएर नदीमा माछा मार्न जाने गरेका छन् । सुदूरउत्तरमा पर्ने जलेश्वरी सोलुखुम्बुसँग जोडिएको गाविस हो । पढे पनि रोजगारीको ग्यारेन्टी नभएकाले पढाइलाई बिट मारेको नदी किनारमा भेटिएका ताराले बताउनुभयो ।