Aamsanchar

वी एण्ड सीलाई मेडिकल कलेजको अनुमति दिनुपर्नेमा जोड

Author Image
आइतवार, भदौ २६, २०७३

b& chospital

बिर्तामोड।

झापाको विर्तामोडमा रहेको वीएण्डसी हस्पिटललाई मेडिकल कलेजको सम्बन्धन दिनुपर्नेमा सरोकारबालाहरुले साझा धारणा व्यक्त गरेका छन् ।
स्वास्थ्य शिक्षा र रोजगार मेची अञ्चलबासीको सरोकार भन्ने नाराका साथ स्वास्थ्य, शिक्षा नागरिक सरोकार समाज मेचीको आयोजनामा हस्पिटल परिसरमा भएको कार्यक्रममा यस्तो माग गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख देवराज कार्कीले सरकारले सरकारी, सामुदायिक र निजी क्षेत्रबाट सेवा प्रदान गरेको बताएका थिए । संविधान अनुसार सरकारले हरेक नागरिकको स्वास्थ्यको विषयमा गम्भीर भएर काम गरिरहेको उनले बताए । उनले डा. गोविन्द केसीले उठाएका माग जायज भए पनि मेडिकल कजेलको सम्बन्धन गाउँ–गाउँमा दिनुपर्ने विचार व्यक्त गरे । आफू पनि झापाली भएकाले वीएण्डसी हस्पिटलले सबै मापदण्ड पूरा गर्दै आएकाले यसलाई मेडिकल कलेजको सम्बन्धन दिनुपर्ने कार्कीले बताए ।
त्यस्तै मेची अञ्चल अस्पतालका सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले सबै नेपालीले आफ्नै ठाउँमा स्वास्थ्य सेवा सुविधा पाउनुपर्ने विचार व्यक्त गरेका थिए । उनले पूर्वाधार पुगेका मेडिकल कलेजहरुलाई सरकारले सम्बन्धन दिनुपर्ने विचार विचार व्यक्त गरे । आफू २०६० सालदेखि मेची अञ्चल अस्पतालमा कार्यरत रहेको भन्दै उनले झापाले स्वास्थ्यको क्षेत्रमा ठूलो फड्को मारेको बताए । उनले सबै नागरिकले स्वास्थ्य शिक्षा पाउनुपर्ने भएकाले बीएण्डसी हस्पिटललाई सम्बन्धन दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बीएण्डसी हस्पिटलका डाइरेक्टर अमरनाथ ठाकुरले सबै पूर्वाधार तयार रहेको र मापदण्ड अनुसार नै भएकाले बीएण्डसीलाई सम्बन्ध दिनुपर्ने विचार व्यक्त गरेका थिए । उनले भवन, उपकरण र दक्ष जनशक्ति भएकाले अब सम्बन्धन दिन्न भन्ने कुनै आधार नै नभएको बताए । आफूहरुको सेवा महंगो भन्ने हल्ला गलत भएको भन्दै उनले अन्य ठूला हस्पिटलको तुलनामा सस्तो रुपमा उपचार गरिरहेको जानकारी दिए ।
कार्यक्रममा स्वास्थ्य, शिक्षा नागरिक सरोकार समाज मेचीका अध्यक्ष प्रकाश शिवाकोटीले समाजको औचित्यको बारेमा प्रकाश पारेका थिए । उनले समाजको स्थापनाको विषयमा समेत प्रष्ट्याए । त्यस्तै उपाध्यक्ष चैतन्यप्रकाश मैनालीले आफूहरुले व्यक्तिगत स्वार्थ नराखी समग्र मेची अञ्चलबासीको स्वार्थलाई हेरेर वीएण्डसी हस्पिटललाई मेडिकल कलेजको सम्बन्धन दिनुपर्ने माग गरेको बताए । उनले आफूहरुको माग जायज भएको भन्दै माग पूरा नभए आमरण अनशन बस्ने चेतावनी दिए । चिकित्सा शिक्षामा सुधारको माग गर्दै पटक–पटक आमरण अनशनमा बसेका डा. गोविन्द केसीले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने बताएको प्रतिलक्षित गर्दै बीएण्डसीलाई किन सम्बन्धन दिन नमिल्ने प्रष्ट पार्नुपर्ने बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सर्वसाधारणले वीएण्डसी हस्पिटलले मेडिकल कलेजको सम्बन्धन पाउनुपर्ने विचार व्यक्त गरेका थिए । उनीहरुले आफूहरुको साथ रहने भन्दै आफ्ना नानीहरुले अब अध्ययन गर्न टाढा जानु नपरोस् भनेका थिए । सर्वसाधारणले आफ्नो मनमा लागेका प्रश्नहरु गर्दै उनीहरुले जवाफ माग गरेका थिए । केही सर्वसाधारणले मेची अञ्चल अस्पतालले सेवा प्रभावकारी नदिएको तथा स्वास्थ्यको विषयमा मेची अञ्चल अस्पताल गम्भीर नभएको गुनासो गरेका थिए । उनीहरुले बीएण्डसी हस्पिटल खुलेपछि राजधानी तथा भारतका विभिन्न स्थानसम्म जानुपर्ने बाध्यता हटेको भन्दै यहींबाट डाक्टर उत्पादन गर्ने कुरामा आफूहरुले साथ दिने बताएका थिए ।
तीन सय शैय्याको अस्पताल सञ्चालन गर्ने अनुमति पाएको वीएण्डसी हस्पिटलले अत्याधुनिक उपकरणका साथै दक्ष चिकित्सकहरुको साथमा सेवा प्रदान गर्दै आएको जनाइएको छ । हस्पिटलले विभिन्न किसिमका जटिल शल्यक्रिया समेत गरिसकेको डाक्टरहरुको भनाइ छ ।
झापाको धाइजनमा मेडिकल कलेजका लागि भवन तयारी अवस्थामा रहे पनि सम्बन्धन नपाउँदा त्यत्तिकै थन्किएको बताइएको छ । पछिल्लो समय मेडिकल कलेज खोल्नुपर्ने माग चौतर्फी रुपमा उठ्न थालेको छ । विभिन्न संघ–संस्थाहरुले वीएण्डसी हस्पिटललाई मेडिकल कजेलको सम्बन्धन दिन माग गर्दै केही समय अघि प्रधानमन्त्री समक्ष ज्ञापन पत्र समेत बुझाएका थिए । कार्यक्रम पत्रकार टीकाराम नेतीले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर