काठमाडौँ ।
नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले मुलुकमा अझै पनि क्रान्ति सफल नभएकाले सफल बनाउन क्रान्तिकारी पाटी गोलबन्द भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको प्रथम राष्ट्रिय भेलाको यहाँ उद्घाटन गर्दै अध्यक्ष वैद्यले क्रान्तिलाई पूर्णता दिनका लागि क्रान्तिकारी पार्टी एक हुनुपर्ने बताउनुभएको हो ।
देश विकासका लागि ठूलाठूला राष्ट्रिय गौरवका आयोजना स्वदेशी लगानीमा नै गर्नुपर्नेमा जोड दिँदै उहाँले ठूला दलहरु देश निर्माणका लागि एक नभएर विखण्डनका पक्षमा लागेको आरोपसमेत लगाउनुभयो ।
मोर्चाका संयोजक सिपी गजुरेलले वर्गीय सङ्गठनसमेत एक भएर देश विकासका लागि अघि बढ्नुपर्ने भन्दै मोर्चाले नेपाली जनताको हकअधिकार सुनिश्चित गर्न सधैँ तत्पर रहने विश्वास दिलाउनुभयो ।
अखिल नेपाल किसान सङ्घका अध्यक्ष भूमेश्वर कँडेलले जनवादी क्रान्ति सफल पार्नका लागि सबै वर्ग र समुदायको सहभागिता हुनुपर्ने बताउनुभयो ।
अखिल नेपाल टे«ड युनियनका अध्यक्ष ईश्वर तिमिल्सिनाले क्रान्ति सफल पार्नेक्रममा भएका घाइते र अपाङ्गलाई अहिलेसम्म पनि अलपत्र पारिएको गुनासो गर्नुभयो ।