Aamsanchar

त्रिपालमुनिबाटै राजधानीको सुरक्षा !

Author Image
बिहिवार, भदौ ३०, २०७३

काठमाडौँ।

police_1377673820

शान्ति सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीले मुलुकको राजधानीमा त्रिपालभित्रबाटै सुरक्षा दिनुपर्ने बाध्यतालाई झेलिरहेको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले हनुमानढोकामा रहेको काठमाडौँ प्रहरी परिसर र अपराध महाशाखाको मुख्यालय रहेको भवनको अधिकांश भाग क्षतिग्रस्त भएपछि अहिले टेकुमा रहेको नेशनल ट्रेडिङ लिमिटेडको जग्गामा ती कार्यालयले अस्थायी संरचना बनाएर काम गर्दै आएका छन् । भूकम्पका बेला परिसरको ब्यारेक भत्कँदा एक जना प्रहरी जवानको समेत ज्यान गएको थियो ।
हनुमानढोकाको पुरानो कार्यालय थोरै क्षेत्रफल र सवारीसाधन चलाउन नमिल्ने स्थानमा रहेकाले अर्को स्थानमा जग्गा खोज्नुपर्ने काठमाडौँ प्रहरीको बाध्यता रहेको छ ।
भूकम्पपछि तात्कालिक रुपमा केही समयका लागि भन्दै टेकुमा बसेको परिसर र महाशाखाले एक वर्ष चार महिना बित्दा समेत भवन बनाउने प्रक्रिया सुरु गर्नु त कता हो कता अहिलेसम्म घर बनाउनका लागि जग्गाको समेत टुङ्गो लगाउन सकेको छैन ।
प्रहरीले अहिलेसम्म बसेको भाडा समेत नतिरेको नेट्रेलिका महाप्रबन्धक सत्यनारायण महतोले बताउनुभयो ।
उहाँले भन्नुभयो – “हामीले प्रति महिना रु १५ लाखका दरले १४ महिनाको भाडा तिर्न भनेर प्रहरीलाई पत्र लेखेका थियौं । महिनौं बितिसक्यो अझै रकम पाएका छैनौं ।”
नेट्रेलिको पक्की भवनमा परिसरको कार्यालय राखिएपनि महाशाखाको कार्यालय भने सोही जग्गामा बिहे भोजका लागि बनाइएको पार्टी प्यालेसको बरण्डामा राखिएको छ ।
बिहे भोजमा ठूलो आवाजमा गीत, सङ्गीत बज्ने हुँदा त्यहाँ काम गर्ने वातावरण नै नहुने गरेको प्रहरी बताउँछन् ।
महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले खुला स्थान भएकाले कतिपय अवस्थामा पीडितहरुले आफ्नो पीडा समेत भन्न धक मान्ने तथा कैदीको बयान लिन समेत समस्या पर्ने गरेको बताउनुभयो ।
मुलुकको राजधानीको सुरक्षा आफैंमा चुनौतीपूर्ण कार्य हो । कुनै घटना भइहाले त्यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चा पाउने गर्छ ।
जाडोमा कठ्याङ्ग्रिएर, गर्मीमा निसास्सिएर र वर्षामा रुझेर रात काट्नुपर्ने प्रहरीको दुर्दशाले सुरक्षा व्यवस्थामा नकारात्मक प्रभाव पारेको सहजै अनुमान लगाउन सकिन्छ ।
सुरक्षा दिने प्रहरी आफैं असुरक्षित र शरणार्थीको जस्तो जीवन बिताउनपरेको उनीहरु गुनासो छ ।
सबैभन्दा आकर्षक मन्त्रालय मानिने गृहमन्त्रालयमा आउन मन्त्रीदेखि सचिवसम्मको प्रतिस्पर्धा हुने गरे पनि गृहअन्तर्गतकै काठमाडौँ प्रहरीको स्थानान्तरण भने त्यहाँ जिम्मेवारी सम्हाल्न आउनेको प्राथमिकतामा पर्न सकेको छैन ।
प्रहरीले नेट्रेलिको सिंहदरबार अगाडि रामशाहपथमा रहेको २६ रोपनी जग्गा किन्न वा भाडामा लिन सके राम्रो हुने सुझाव गृहमन्त्रालयलाई दिइसकेको महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रतापसिंह थापाले बताउनुभयो ।
गृह प्रवक्ता यादव कोइरालाले काठमाडौँ जिल्ला सुरक्षा समितिले सो जग्गा किन्नका लागि निर्णय गरेर ल्याएमा मन्त्रालय किन्ने प्रक्रिया अगाडि बढाउन तयार रहेको प्रतिक्रिया दिनुभयो ।
सो क्षेत्रको सरकारी दर प्रतिआना रु ४० लाख रहेकाले सो जग्गा किन्न करिब रु एक अर्ब ७२ करोड लाग्नेछ । राजधानीको सुरक्षाको कुरा पैसासँग दाँज्न नहुने भएकाले अल्पकालीन रुपमा भाडामा लिनुभन्दा दीर्घकालकै लागि सो जग्गा किन्नुपर्ने प्रहरीको भनाइ छ ।
काठमाडौँका प्रजिअ रामकृण सुवेदीले सो जग्गा भाडामा लिन आफूले प्रयास गरेको भएपनि नेट्रेलिले जग्गा भाडामा दिने भन्दा बेच्ने प्रस्ताव राखेकाले सहमति हुन नसकेको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर