झापा।
झापाको कनकाई नगरपालिकास्थित सुरुंगाका एक बालकमा ठूलो आन्द्राभित्र सानो आन्द्रा भेटिएको छ । मेची अञ्चल अस्पताल भद्रपुरका रेडियोलोजिस्ट डा. सञ्जयकुमार गुप्ताकाअनुसार सुरुंगा निवासी पाँच वर्षीय बालकको ठूलो आन्द्राभित्र सानो आन्द्रा भेटिएको हो । बालकको नाम भने गोप्य राखिएको छ ।
पेट दुखेर सिकिस्त बिरामी भएपछि बालकलाई दुई दिनअघि उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याइएको थियो ।
‘उपचारकाक्रममा बालकको पेटको भिडियो एक्स–रे गर्दा ठूलो आन्द्राभित्र सानो आन्द्रा फेलापर्यो’–डा. गुप्ताले भने ।
लाखौंमा एकजनालाईमात्र यस्तो समस्या हुने बताउँदै डा. गुप्ताले भने–‘समयमा नै यस्तो समस्याको उपचार नगराउने हो भने मानिसको मृत्युसमेत हुन्छ ।’ बालकको पहिलो चरणमा नै समस्या पत्ता लागेकाले उपचार सम्भव रहेको डा. गुप्ताको भनाइ छ ।
मेची अञ्चल अस्पतालमा उपकरण अभावका कारण बालकको उपचार सम्भव नभएपछि थप उपचारका लागि विहीबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको डा. गुप्ताले जानकारी दिए ।