Aamsanchar

दुर्घटना कम गर्न झापाबाट महाअभियान

Author Image
शुक्रवार, भदौ ३१, २०७३

durghatana
[असोज २ गतेलाई दुर्घटनारहीत राष्ट्रिय दिवस मनाउने ]
बिर्तामोड ।
पछिल्लो समय सवारी दुर्घटना र त्यसको कारण हुने मानिसको मृत्युदर अप्रत्यासित रुपमा बढेपछि झापाका नागरिक अगुवाहरुले सवारी दुर्घटना न्यूनीकरण महाअभियान शुरु गर्ने घोषणा गरेका छन् ।
महाअभियान अन्तर्गत असोज २ गतेलाई दुर्घटनारहीत राष्ट्रिय दिवस मनाउने प्रस्ताव समेत गरिएको छ । महाअभियान मूल आयोजक समितिले विहीवार विहान बिर्तामोडमा पत्रकारको भेटघाटको आयोजना गरी अभियानको औचित्य र कार्ययोजना सार्वजनिक ग¥यो ।
महाअभियानका संयोजक गोपालकुमार बस्नेतले सवारीसाधनका चालकलाई जिम्मेवार बनाउँदै अझ राम्रोसँग सवारी साधन चलाउनका लागि महाअभियान अन्तर्गत प्रेरित गरिने बताए । सबै चालक, यातायात मजदुर र व्यवसायीले विश्वकर्मा बाबालाई आस्थाको केन्द्र मान्ने भएकोले असोज १ गते विश्वकर्मा बाबाको पूजाको भोलिपल्टै २ गतेलाई दुर्घटनारहीत राष्ट्रिय दिवसको रुपमा प्रस्ताव गरिएको संयोजक बस्नेतको भनाइ छ । ‘विश्वकर्मा बाबाको आस्थासँग चालकहरुलाई नजिक गराएर यस्तो अभियान चलाउँदा अझ प्रभावकारी हुने हाम्रो ठहर छ’– संयोजक बस्नेतल भने ।
अभियान अन्तर्गत असोज २ गते बिर्तामोडको पश्चिम बस स्टेण्डमा सार्वजनिक सवारी साधनका चालकलाई खादा र अविर पहि¥याई सम्मान गर्दै राम्रोसँग सवारी चलाउनका लागि प्रेरित गरिने महाअभियानका सह–संयोजक मदनगोपाल सुब्बाले जानकारी दिए । चालकहरुलाई अहिलेसम्म राम्रोसँग सवारी साधन चलाएकोमा धन्यवाद र प्रशंसासहित आगामी दिनमा अझ होशियारी अपनाउन र अरुलाई पनि होशियारी साथ सवारी साधन चलाउनका लागि प्रेरित गराउनु अभियानको मूल लक्ष्य रहेको राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष समेत रहेका महाअभियानका सह–संयोजक सुब्बाको भनाइ छ ।
सो दिन ५ सय सार्वजनिक सवारी साधनका चालकलाई खादा र अविर पहि¥याउँदै अझ जिम्मेवार बन्न आग्रह गर्ने, सवारी साधनमा चेतनामूलक स्टीकर टाँसिने र पर्चा वितरण गरिने महाअभियानका महासचिव एकराज गिरीले जानकारी दिए । अभियानमा सहभागीहरु प्ले कार्ड र व्यानरसहित कार्यक्रम स्थलमा उपस्थित भई उक्त कार्यमा सहभागी हुने बताइएको छ । नागरिक अगुवा संस्थाका प्रतिनिधिले यातायात व्यवसायी, स्थानीय प्रशासन, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा सरोकारवालासँग समन्वय गरी अभियान सञ्चालन गर्ने बताइएको छ ।

झापाबाट देशभरकै रुटमा सवारी चल्ने भएकाले विहान ६ बजेबाटै बेलुकासम्म उक्त अभियान सञ्चालन गरिने मेची यातायात संघका सभापति अभियानका सदस्य राजेन्द्र बस्नेतले बताए ।
नेपाल यातायात व्यवसायी महासंघका सल्लाहकार श्रीप्रसाद मैनालीले नागरिकस्तरबाट सञ्चालन हुने अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे । पत्रकार भेटघाटमा अभियानका सदस्य एवम् बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष बलराम कार्कीले स्वागत गर्दै यो अभियान सबै नागरिकको सरोकारको र साझा भएको बताए । झापाबाट यस वर्ष सुरु गर्न लागिएको यो महाअभियान आगामी वर्षबाट देशव्यापी रुपमा एकसाथ सञ्चालन गरिने बताइएको छ ।

‘झापाबाट शुरु भएको यो अभियानलाई देशव्यापी बनाएर हरेक बर्ष राष्ट्रिय दिवसको रुपमा यसलाई मनाउँदै हरेक दिन दुर्घटनारहित बनाउने अभियानको मुख्य लक्ष्य रहेको छ’ महाअभियानका संयोजक बस्नेत भन्छन्–‘महाअभियान सफल पार्नका लागि झापाका ३० बढी नागरिक संघसंस्थाको भेलाले ती संस्थाका प्रतिनिधि रहने गरी मूल समिति समेत गठन गरेका छौं ।’
‘हरेक दुर्घटनाको कारणलाई चालकको कमजोरी र लापर्वाहीको रुपमा हेर्ने गरिएको छ, चालकको हातमा कैयौं यात्रु र यात्रीको जीवन निर्भर रहेको हुन्छ’–जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख ढुण्डीराज गिरी भन्छन् –‘सवारी साधन चलाउने सन्दर्भमा चालक अत्यन्त संवेदनशील हुन जरुरी छ । यसको लागि जनचेतना र सावधानी नै मुख्य कुरा हो ।’
‘चेतनाको पाटोमा सरकारीस्तरबाट मात्र भएका प्रयास पर्याप्त छैनन्’–गिरीको कुरामा थप्दै बिर्तामोड रेडक्रसका सभापति एवं वीरता जेसीसका अध्यक्ष सजेस शिवाकोटीले भने –‘यसै सन्दर्भलाई मनन गरी प्रशंसासहित चालकलाई जिम्वेवार बनाउन झापामा नागरिकको स्तरबाट सवारी दुर्घटना न्यूनीकरण महाअभियान शुभारम्भ गर्न लागिएको हो । यो सबैको सरोकार र साझा अभियान हो ।’
आज विश्वमा सडक (सवारी) दुर्घटनाको अवस्था भयानक बन्दै गएको छ । नेपालकै सन्दर्भमा हेर्ने हो भने पनि दुर्घटनाको कारण सशस्त्र द्वन्द्वको समयभन्दा धेरै गुणाबढी संख्यामा नागरिकको अकाल मृत्युवरण भईरहेको छ । हरेक दिन सवारी दुर्घटनाका कारण कैयौंले अकालमा ज्यान गुमाइरहेका छन् ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा प्रत्येक बर्ष १३ लाख मानिसको मृत्यु सडक दुर्घटनाका कारण हुने गरेको छ । त्यसमध्ये प्रतिदिन तीन हजारका दरले मानिसको मृत्युको कारण सडक दुर्घटना बनेको छ । निम्न र मध्यम आयका भएका देशहरुमा उक्त दुर्घटना र मृत्युवरण ९० प्रतिशतले रहेको अध्ययनले देखाएको छ । नेपालको सन्दर्भमा प्रत्येक बर्ष २ हजार बढी र प्रत्येक दिन ५ जनाको मृत्युको कारण सडक दुर्घटना देखिएको छ । नेपालमा हरेक दिन दुर्घटनाकै कारण ३३ जना मानिस घाइते हुने गरेको तथ्यांक छ । झापाकै सन्दर्भमा मात्र कुरा गर्ने हो भने एक बर्षमा ७० भन्दा बढी मानिसको मृत्यु र दुई सय १५ भन्दा बढी घाइते सडक दुर्घटनाकै कारण हुने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर